• शारदा पोखरेल

बारा, २५ चैत। जीर्ण विद्यालय भवन, भत्किएको शौचालय, शिक्षक अभाव र न्यून विद्यार्थी संख्या जितपुरसिमरा उपमहानगर–१५ स्थित श्री जनकल्याण आधारभूत विद्यालयको तत्कालीन अवस्था हो यो।

तर समस्याग्रस्त र झन्डै बन्द हुने अवस्थामा पुगेको ग्रामीण भेगको यो सामुदायिक विद्यालयले अहिले भने मुहार फेरेको छ।

विद्यालयका प्रधानाध्यापक (प्रअ) गोकुल कुँवरले पूर्वविद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, समाजसेवी, स्थानीय संघसंस्था तथा अभिभावकहरूलाई समेटेर ‘हाम्रो विद्यालय हामी आफै बनाऔँ’ अभियान सञ्चालन गरेपछि यो विद्यालयले नयाँ जीवन पाएको हो।

दुई वर्षअघि ३५ देखि ४० जना मात्रै विद्यार्थी भएको उक्त सामुदायिक विद्यालयमा अहिले १३१ जना विद्यार्थी अध्ययन गर्छन्। साथै, व्यवस्थित पुस्तकालय, चिटिक्क परेको बालविकास कक्षाकोठा, विज्ञान प्रयोगशाला र पर्याप्त खेलसामग्री समेत उपलब्ध छन्।

विद्यालयमा भौतिक रूपमा सुधार हुँदै गएपछि अहिले संस्थागत (निजी) विद्यालयमा पठनपाठन गर्ने अभिभावक, शिक्षक, व्यवस्थापन समिति र कर्मचारीका छोराछोरीहरू समेत यही सामुदायिक विद्यालयमा अध्ययन गर्छन्। पछिल्लो समय विद्यालयको नतिजासमेत उत्कृष्ट आएको उपमहानगरको तथ्यांकले देखाएको छ।

विद्यालयको शैक्षिक सुधारका लागि बिहानदेखि साँझसम्म खटे पनि परीक्षा नतिजाले सबै दुःख बिर्साउने प्रअ कुँवर बताउँछन्।

‘कक्षा ८ को नतिजा आएपछि सबै दुःख बिर्सन्छु,’ उनले भने, ‘विद्यार्थी राम्रो बने भने त्यही नै खुसी लाग्छ मलाई त।’

s13

कुँवरले प्रअको जिम्मेवारी सम्हालेपछि उक्त विद्यालयले उपमहानगरले लिँदै आएको कक्षा ८ को परीक्षामा शतप्रतिशत विद्यार्थीले ‘ए लेभल’ को नतिजा ल्याएका छन्।

साथै, नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा कक्षाकोठा अभावले ठुलो समस्या हुने देखेपछि प्रअ कुँवरले सामाजिक सञ्जालमार्फत देश/विदेशमा रहेका पूर्वविद्यार्थीहरूमार्फत सहयोग जुटाएर संरचना निर्माण गरेका छन्।

उक्त विद्यालयका लागि उपमहानगरले गत वर्ष ६२ लाख रुपैयाँ लागतमा दुईतले नयाँ विद्यालय भवन निर्माणको ठेक्का लगाएको थियो। तर, ठेकेदार कम्पनी एन.एन. कन्स्ट्रक्सन, वीरगन्जले ‘रनिङ बिल’ को भुक्तानी नपाएको भन्दै काम अलपत्र छोडेर हिँडेपछि विद्यालय भवन अलपत्र परेको हो।

s4

‘ठेकेदारले निर्माणाधीन भवन अलपत्र छोडेपछि हामीले पूर्वविद्यार्थीहरूबिच सामाजिक सञ्जालबाटै अभियान चलाएर नयाँ कक्षाकोठा बनाइरहेका छौँ,’ प्रअ कुँवरले भने, ‘सामुदायिक विद्यालयप्रति अभिभावकहरू सचेत भए पनि अझै विश्वास जागिसकेको छैन, जगाउनुपर्ने हाम्रो दायित्व हो।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण केसीले विद्यालय सुधार हुनुमा प्रअकै भूमिका महत्त्वपूर्ण रहेको बताउँछन्।

‘हाम्रो सामुदायिक विद्यालय अहिले धेरै राम्रो भएको छ, यसमा प्रमुख भूमिका प्रअकै छ। उहाँ बिहानदेखि बेलुकासम्म विद्यालयमै खट्नुहुन्छ,’ व्यवस्थापन समिति अध्यक्ष केसीले भने, ‘हामी भनेको त यसो बाहिरबाट हेर्ने मात्रै हो । उहाँले नै सबै शिक्षकहरूलाई कडाइका साथ खटाउनुहुन्छ।’

s1

सुदूरपश्चिम, अछाम घर भएका कुँवर यसअघि सोही विद्यालयका शिक्षक थिए। दुई वर्षअघि उपमहानगरले उनलाई प्रअको जिम्मेवारी दिएको हो।

उपमहानगरले शिक्षामा सुधारको नीति लिएपछि विगतमा घटुवामा परेका समस्याग्रस्त केही आधारभूत विद्यालयहरू धेरै सुधार भएको तथ्यांकले देखाएको छ।

तीन वर्षअघि घटुवामा परेको (कक्षा ८ बाट कक्षा ५ मा झरेको) जितपुरसिमरा–२ स्थित श्री सरस्वती आधारभूत विद्यालय पनि अहिले नमुना बन्दै गएको छ।

उक्त विद्यालयमा भर्ना रजिस्टरमा संख्या उल्लेख्य देखिए पनि नियमित ४० देखि ४५ जना विद्यार्थी मात्रै उपस्थित हुने गर्दथे।

तर, पछिल्लो समय शैक्षिक गतिविधि, खेलकुदलगायत अतिरिक्त क्रियाकलाप, व्यवस्थित बालविकास कक्षाकोठा, आकर्षक विद्यालय पोशाक, व्यवस्थित दिवा खाजाका कारण विद्यार्थी संख्या बढ्दै गएको प्रअ रुद्रप्रसाद ढकाल बताउँछन् ।

s9

‘एकपटक घटुवा भएको विद्यालयलाई अभिभावकले पटक्कै विश्वास नगर्ने रहेछन्, फेरि पुरानै अवस्थामा फर्काउन धेरै ठूलो मेहनत गर्नुपर्दो रहेछ,’ प्रअ ढकालले भने, ‘हाम्रो स्थानीय अभिभावकले अझै विश्वास गर्नुभएको छैन।’

उपमहानगरको सहरी क्षेत्रका सामुदायिक विद्यालयहरूमा औद्योगिक करिडोरका मजदुर, दैनिक गुजारा चलाउन धौ–धौ पर्ने न्यून आय भएका, अटिजम तथा शारीरिक रूपमा अपांग बालबालिका धेरै छन्।

अभिभावक सचेत नहुँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू नियमित कक्षाकोठामा उपस्थित नहुने, सरसफाइमा ध्यान नदिने, गृहकार्य नगर्ने लगायतका समस्या धेरै छन्।

‘अतिरिक्त क्रियाकलापसँगै पुस्तकालय, कम्प्युटर ल्याब, अभिभावक भेला राख्न थालेपछि उहाँहरूले चासो राखेर अहिले हामीलाई हौसला दिन थाल्नुभयो,’ ढकालले भने, ‘सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने धेरै अभिभावकको धारणामा विस्तारै परिवर्तन गर्न खोज्दैछौँ।’

s5

जितपुरसिमरा उपमहानगरभित्र ६० वटा सामुदायिक विद्यालय छन् जहाँ १६ हजार ७ सय ४८ जना विद्यार्थीहरू अध्ययन गर्छन् भने ४३३ जना शिक्षक छन्।

अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसक्दा न्यून विद्यार्थी भएका विद्यालयहरूमा शिक्षक संख्या अधिक छ भने अधिक शिक्षक दरबन्दी भएका विद्यालयहरूमा विद्यार्थी संख्या न्यून छ।

विद्यालय प्रअ ढकाल समस्याग्रस्त विद्यालयहरू सुधारका लागि नगरले छुट्टै योजना ल्याउनुपर्ने बताउँछन्।

s10

उपमहानगर शिक्षा शाखाका अधिकृत हरिष प्रसाद भट्टले आधारभूत तहका केही विद्यालयहरू भौतिक र शैक्षिक रूपमा सुधार हुँदै गए पनि माध्यमिक तहका विद्यालयहरू कमजोर रहेको टिप्पणी गर्छन्।

‘जनशक्ति अभावका कारण हामी पालिकाभित्रको धेरै प्रशासनिक काममा अल्झनुपरेको छ, विद्यार्थी र अभिभावकहरूसँग साक्षात्कार गर्न पाएका छैनौँ,’ भट्टले भने, ‘हाम्रा विद्यालयहरू शैक्षिक रूपमा सुधार हुँदै गएका छन् तर भौतिक रूपमा प्रचण्ड गर्मीमा जस्तामुनि बस्नुपर्ने बाध्यता छ, संघीय सरकारले छुट्याएका बजेट आउँदैनन्।’

उपमहानगरले पालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलहरू चिनाउन स्थानीय पाठ्यक्रम निर्माण गरेर सामुदायिक तथा संस्थागत विद्यालयको प्राथमिक तहसम्म निःशुल्क वितरण गरेको छ।

पालिकाले कक्षा ५ सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई बर्सेनि निःशुल्क पोसाक प्रदान गर्दै आएको छ।

निःशुल्क शिक्षा, दिवा खाजा, पोसाक, पर्याप्त खेलसामग्री, व्यवस्थित बालविकास कक्षाकोठालगायत कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या विस्तारै बढ्दै गए पनि गुणस्तरीय शैक्षिक नतिजा भने आउन सकेको छैन।

(रातोपाटीबाट)