सप्तरी, २३ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीबाट घुस रकमसहित विद्युत प्राधिकरणका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ। 

 जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहास्थित कोशी साइड रिसोर्ट होटलबाट कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार घुस लिँदै गरेको अवस्थामा  आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

 घुस लेनदेन भइरहेको सूचनाका आधारमा गरिएको विशेष अपरेसनमा नेपाल विद्युत् प्राधिकरणका एक उच्च पदस्थ इन्जिनियर रंगेहात पक्राउ परेका छन्।

स्थानीय सेवाग्राही कृष्ण मुरारी यादवसँग विद्युतिय सवारीसाधान चार्जिङ स्टेशन सञ्चालनका लागि आवश्यक विद्युत् क्षमता वृद्धि गरिदिने नाममा अवैध रकम माँग गरेको खुलेको छ। हाल ९० केभी क्षमतामा सञ्चालन भइरहेको विद्युत् लाइनलाई बढाएर १६० केभी पुर्‍याइदिने भन्दै दासले सेवाग्राहीसँग रकम माँग गर्दैआएको जानकारी प्राप्त भएको छ।  

सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी–सुनसरीबाट प्रहरी निरीक्षक खगेन्द्र ऐकतेनको नेतृत्वमा खटिएको टोली तथा इलाका प्रहरी कार्यालय भारदह, सप्तरीबाट प्रहरी सहायक निरीक्षक नागेश्वर थान्दारको कमाण्डमा रहेको संयुक्त टोलीले होटल परिसरबाटै रकमसहित रंगेहात पक्राउ गरेको जनाएको छ।

पक्राउपछि आवश्यक प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीतर्फ लगिएको छ।