सिरहा, २३ चैत। सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इटहरीको राष्ट्रिय जागृति क्लब विजयी भएका छन्। हेटौंडा फुटबल एकेडेमी र इटहरीबीच भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इटहरी विजयी भएको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इटहरीका गोलरक्षक विवस चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए। उक्त पुरस्कार गोलबजार नगरपालिका ९ का वडा अध्यक्ष सुरेन्द्र सिंहले प्रदान गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंहले खेलकुदले युवालाई अनुशासन, स्वास्थ्य र सकारात्मक दिशातर्फ अघि बढाउने महत्वपूर्ण माध्यम भएको बताए। उनले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्नुका साथै सामाजिक एकता र सद्भाव मजबुत बनाउने उल्लेख गरे। खेल क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।

कार्यक्रमको अध्यक्षता गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले गरेका थिए भने सञ्चालन नगर प्रवक्ता तथा वडा नम्वर ६ का अध्यक्ष संजित लामाले गरेका थिए। कार्यक्रममा नगरका १३ वटै वडाका अध्यक्ष, सिरहा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको भोलिको खेल सलहेश युवा क्लब सिरहा र गोलबजार स्पोर्ट्स क्लबबीच दिउँसो २ बजे हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ नगदसहित ट्रफी उपविजेताले २ लाख २२ हजार २२२ नगदसहित ट्रफी प्राप्त पार्नेछन्। साथै ‘म्यान अफ द म्याच’, ‘उत्कृष्ट खेलाडी’ लगायत विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता गोलबजार नगरपालिका २ गुरुधामस्थित खेलग्राममा सञ्चालन भइरहेको छ, जहाँ देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिए।






















