ज्ञान कुमार राय

 सिरहा २२ चैत। माध्यमिक शिक्षा परीक्षा (एसइई)को तेस्रो दिन आईतबार भएको अनिवार्य गणित विषयको परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट ११२ थान मोवाईल र स्मार्ट वाच बरामद गरेको छ। नियमित अनुगमन तथा चेकजाँचको क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट ७ थान स्मार्ट वाच र १०५ थान मोबाइल बरामद गरेको हो। 

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दिपकराज कलौनीले परीक्षाकेन्द्रहरुबाट उक्त मरीमाणको मोवाईल र स्मार्टवाच बरामद गर्नुको साथै परीक्षाको मर्यादाविपरित कार्यगरेको भन्दै एक जना परीक्षा निरीक्षकलाई निस्कासन गरेको जानकारी दिए। 

उनले समपूर्ण परीक्षा केन्द्रका सरोकारबाला पक्षहरुलाई सजक एवम् जिम्मेवार हुन समेत अपिल गरेको छ। 

यस अघि गत शुक्रवार पनि विभिन्न परीक्षा केन्द्रबाट १९४ थान मोवाईल र २ थान स्मार्टवाच बरामद गरेको थियो। 

विशेषगरी सिरहामा निजी विद्यालयका संस्थापक आफै वा विचौलिया प्रयोगगरी सरोकारवालाई प्रभावमा पर्नेगरेको घटना सार्वजनिक हुँदै आएका थिए। यो परीक्षामा पनि उनीहरुको सक्रियता उत्तिकेै रहेको सरोकारवालाहरु बताउँछन्। 

यस वर्ष सिरहाबाट कुल ११ हजार ३७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। जसमा साधारणतर्फ १० हजार ६२५ र प्राविधिकतर्फ ४१२ जना रहेका छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन्।

जिल्लामा परीक्षा सञ्चालनका लागि ५१ वटा केन्द्र निर्धारण गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।