मुकेश कुमार यादव
सिरहा २१ चैत। माध्यमिक शिक्षा परीक्षा (एसईई)को दोस्रो दिन सुक्रबार भएको नेपाली विषयको परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट करिब दुई सय मोबाइल बरामद गरेको छ। अनुगमनका क्रममा जिल्लाका विभिन्न ९ वटा परीक्षा केन्द्रबाट २ थान स्मार्ट वाच र १९४ थान मोबाइल नियन्त्रणमा लिइएको शिक्षा विकास तथा समन्वय इकाई सिरहाले जानकारी दए।
ुसोही क्रममा परीक्षा केन्द्रमा मोबाइलसहित भेटीएका २ जना केन्द्राध्यक्ष र ४ जना निरीक्षकलाई निष्कासन गरिएको छ। निष्कासन हुनेमा सिरहा सदरमुकामस्थित बालमन्दिर माध्यमिक विद्यालयका केन्द्राध्यक्ष संजय यादव र जनता माध्यमिक विद्यालय फुलबरियाका केन्द्राध्यक्ष रामकिशोर यादव रहेका छन्।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपक राज कनौलीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेको नेतृत्वमा गएको अनुगमन टोलीले परीक्षा अमर्यादित बनाउन खोजिएको पाइएपछि उक्त कारबाही गरिएको हो।
विगतका वर्षहरूमा सिरहामा परीक्षा केन्द्रहरूमा सेटिङ, प्रभाव र विचौलियाको सक्रियताले परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठ्दै आएको थियो। यस वर्ष पनि त्यस्ता गतिविधि दोहोरिन नदिन कडाइका साथ अनुगमन भइरहेको जनाइएको छ।
अभिभावकहरूले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको अनियमितता, नक्कल प्रवृत्ति र कमजोर अनुगमनका कारण गुणस्तर खस्किँदै गएको बताएका छन्।
यस वर्ष सिरहाबाट कुल ११ हजार ३७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। जसमा साधारणतर्फ १० हजार ६२५ र प्राविधिकतर्फ ४१२ जना रहेका छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन्।
जिल्लामा परीक्षा सञ्चालनका लागि ५१ वटा केन्द्र निर्धारण गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।





















