अमरराज नहर्की

तनहुँ, २० चैत। तनहुँका २२ वटै परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ। छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि जिल्लाभर सोहीअनुसार कार्य अघि बढाइएको हो।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका सूचना अधिकारी भरत बरालका अनुसार प्रत्येक उत्तरपुस्तिका तीन दिनभित्र परीक्षण सम्पन्न गर्ने गरी व्यवस्थापन मिलाइएको छ। उत्तर पुस्तिका परीक्षणका लागि फरक–फरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको उनले जानकारी दिए। परीक्षण कार्यलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको इकाइले जनाएको छ। यस कदमले नतिजा प्रकाशनमा हुने ढिलाइ घट्नुका साथै मूल्याङ्कन प्रक्रियामा विश्वसनीयता थप बढ्ने अपेक्षा गरिएको केन्द्रले जनाएको छ।

यस वर्ष तनहुँ जिल्लाबाट कूल ६ हजार १५५ परीक्षार्थी एसइईमा सहभागी भएका छन्। जिल्लाका १७४ सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीका लागि २२ परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको हो। परीक्षार्थीमध्ये नियमिततर्फ ४ हजार ९४० र ग्रेडवृद्धितर्फ एक हजार २१५ जना रहेका छन्। 

व्यास नगरपालिकाभित्र निर्मल मावि, जलदेवी मावि, सत्यवती मावि, बालमन्दिर मावि, महर्षि वेदव्यास संस्कृत मावि र चण्डीदेवी राष्ट्रिय माविलगायतका विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। यसैगरी देवघाट, बन्दीपुर, आँबुखैरेनी, खैरेनीटार, दुलेगौंडा, भिमाद, ऋषिङ र घिरिङ क्षेत्रका विद्यालयहरूमा केन्द्र कायम गरी जनशक्ति परिचालन गरिएको छ।

प्रत्येक केन्द्रमा दुई जना विषय विशेषज्ञबाट उत्तरपुस्तिका जाँच भइरहेको र पारदर्शिताका लागि सम्परीक्षकको समेत व्यवस्था गरिएको सूचना अधिकारी बरालले बताए। जाँच्ने र जाँचेको पुनः जाँच्ने दुवै प्रक्रियाका लागि शिक्षकलाई पूर्वप्रशिक्षण दिइएको छ।

यसअघि एसइई सम्पन्न भएपछि मात्र फरक जिल्लामा उत्तरपुस्तिका जाँच गरिने व्यवस्था थियो। यस पटक भने परीक्षा केन्द्रमै सोही दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ। 

ab mall