मणिलाल विश्वकर्मा

लहान, १९ चैत। स्थानीय व्यापारीहरूले बजारमा विषादीयुक्त फलफूल तथा तरकारी बिक्री गरिरहेको गुनासो बढेपछि सिराहाको लहान क्षेत्रमा फलफूल तथा तरकारीका थोक गोदामहरूमा आकस्मिक अनुगमन गरिएको छ। 

मुनाफाका लागि उपभोक्तालाई विषादीयुक्त फलफूल र तरकारी बिक्री गरिरहेको जनगुनासो बढेपछि बिहीबार बिहान सप्तरीको राजविराजस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको अगुवाइमा लहान क्षेत्रका आधा दर्जन ठुला फलफूल तथा तरकारी गोदामहरूमा आकस्मिक अनुगमन गरिएको हो। अनुगमनपछि फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि नमुनासमेत संकलन गरिएको छ। 

डिभिजन प्रमुख विमल भट्टराईको नेतृत्वमा रहेको अनुगमन टोलीले स्थानीय शुभलक्ष्मी फ्रुट सेन्टर, जय श्री माता फ्रुट सेन्टर, शिवबाबा फ्रुट सेन्टर, जय मा भवानी ट्रेडर्स, मा लक्ष्मी फ्रुट सेन्टर र सोहेल ट्रेडर्स तरकारी बजारको अनुगमन गरेको हो। 

अनुगमनका क्रममा संकलित नमुनामा विषादीको मात्रा परीक्षण गर्न तत्काल जनकपुर पठाइएको डिभिजन प्रमुख भट्टराईले जानकारी दिए। ‘मूल्य तिरेपछि स्वच्छ तरकारी र फलफूल खान पाउनु उपभोक्ताको अधिकार हो,’ उनले भने, ‘बजारमा बिक्री भइरहेका फलफूल तथा तरकारीहरूमा विषादीको अवस्था र मात्रा बुझ्न नमुना संकलन गरिएको हो।’

अगुगमन टोलीका खाद्य निरीक्षण अधिकारी राजिन बुढाथोकीका अनुसार संकलित नमुनाको अन्तिम प्रतिवेदन शुक्रबारसम्म आउनेछ। ‘नमुना परीक्षणको नतिजा नआएसम्म फलफूलमा विषादीको मात्रा कति छ भनेर अहिले नै भन्न सकिँदैन,’ उनले भने, ‘परीक्षण प्रतिवेदन आएपछि थप प्रक्रिया अघि बढ्छ।’

‘स्थानीय तहले परीक्षण प्रविधि राख्न जरुरी’

अनुगमनमा जिल्ला उद्योग वाणिज्य संघ सिराहा, लहानका अध्यक्ष प्रदीपकुमार गुप्तासमेत सहभागी थिए। अध्यक्ष गुप्ताले स्थानीय बजार अनुगमनलाई औपचारिकतामा मात्र सीमित नराखी निरन्तरता दिनुपर्ने र स्थानीय तह स्वयंले पनि वेलावेलामा अनुगमन गर्नुपर्नेमा जोड दिए। ‘स्थानीय तहले आफ्नै विषादी परीक्षण प्रविधि र संरचना खडा गर्न जरुरी छ,’ उनले भने, ‘स्थानीय सरकारले आफ्नो क्षेत्रका नागरिकले कस्ता खानेकुरा खाइरहेका छन् भन्ने विषयमा नियमित निगरानी गर्नुपर्छ।’

लहान क्षेत्रका थोक गोदामहरूबाट सिराहाका साथै छिमेकी जिल्लाहरू सप्तरी र उदयपुरसम्म फलफूल तथा तरकारी वितरण हुने गरिरहेको संघले जनाएको छ। फलफूल तथा तरकारी ठुलो क्षेत्रमा समेत आपूर्ति हुने भएकाले स्थानीय स्वच्छताले समग्र क्षेत्रको जनस्वास्थ्यमा पनि प्रभाव पार्ने हुँदा विषादी परीक्षण र स्वच्छतामा ध्यान दिइनुपर्ने जानकारहरू बताउँछन्। 

ab mall