सिरहा, १७ चैत। नवौं गोलबजार मेयर गोल्ड कप २०८२ यहि चैत २३ गतेबाट हुने भएको छ। गोलबजार नगरपालिकाले आज पत्रकार सम्मेलन गरी चैत २३ देखि २९ गतेसम्म हुने खेल तालिका सार्वजनिक गरेको हो। 

BGR 9 meyar cup

प्रतियोगितामा कोशि, मेधश र बागमती प्रदेशका ८ वडा क्लवहरुले भाग लिएका छन्। सिरहाको गोलबजारबाट गोलबजार युनाईटेड क्लव र गोलबजार स्पोर्टस् क्लव, सल्हेश युवा क्लव सिरहाले भाग लिएको आयोजकले जनाएको छ।  

कोशिबाट राष्ट्रिय जागृति क्लव इटहरी, लालिगुराँस स्पोर्टस् क्लव विराटनगर, ब्रदरहुड फुटबल क्लव उदयपुर बेलका र चात्या सा फुटबल क्लव दमक झापा प्रतियोगितामा सभागी भएका छन्।  बागबतीबाट भने हेटौडा फूटबल एकेडेमीले प्रतियोगितामा सहभागी भएका छन्। 

पत्रकार सम्मेलनमा नगरप्रमुख मेयर श्याम कमार श्रेष्ठले स्थानीय खेलको विकास र पहिचानको निमित्त नगरपालिकाले पछिल्लो ९ वर्षदेखि निरन्तर मेयर गोल्ड कपको आयोजना गर्दै आएको बताए। उनले खेलको विकासमा नगरपालिका सधैं खेलाडीहरुको साथमा रहने बताउँदै भने, ‘नगरले आयोजना गरेका बाहेक अन्य खेल र खेलाडीहरुलाई सहयोग गर्दै आएका छौं। आउँदा दिनहरुमा पनि त्यो निरन्तरता  रहने छ। म खेलकुदको विकासमा सवैको हात्तेमालो आवश्यक रहेको देख्छु।’

उनले फुटबल, क्रिकेट लगायतका खेलको विकासमा पालिकाले सहयोग गर्दै आएको र यो पटक कार्यक्रम र बजेट पनि छुट्याएको जानकारी दिए।

कुल २५ लाख बजेट विनियोजन गरिएको यस प्रतियोतिाको प्रथम पुरस्कार ४ लाख ४४ हजार ४४४ रुपैयाँ रासिको छ भने दोस्रो पुरस्कार २ लाख २२ हजार २२२ रुपैयाँको रहेको नगर प्रबक्ता तथा वटा नम्वर ६ का अध्यक्ष संजित लामाले जानकारी दिए। 

प्रतियोगिताका सर्वोत्कृष्ट एक जना, ७ खेलका ७ जना म्यान अफ द म्याच, उत्कृष्ट गोलकिपर र उत्कृष्ट कोचलाई पनि नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ।  

पत्रकार सम्मेलनमा उपप्रमुख मानती देवी साह, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र शिक्षा तथा खेलकुद विकास शाखाका अधिकृत सुवोद कुमार लामाको उपस्थिति रहेको थियो। 

प्रतियोगिताको सम्पूर्ण खेल गोलबजार नगरपालिका २ गुरुधामस्थित एकीकृत खेलग्राममा हुने आयोजकले जनाएको छ।