लहान, १५ चैत। तत्काल तलबसहितका सम्पूर्ण रकम निकासा माँग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले ज्ञापनपत्र बुझाएका छन्। लामो समयदेखिको तलव सुविधा तत्काल पाउनुपर्ने माँगसहित उनीहरुले आईबार ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका हुन्।
उनीहरुले गत पुस महिनादेखि हालसम्मको सम्पूर्ण तलव भत्तासहितका रकम तीन दिनभित्र नपठाए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन्।
उनीहरुले बुझाएको ज्ञापनपत्रमा तलब भत्ता, पाठ्यपुस्तक, छात्रवृत्ति, ननसेलरी, दिवाखाजा, विद्यालय व्यवस्थापन अनुदान, संघीय अनुदान र स्वयंसेवक शिक्षकहरुले तलब नपाउँदा आउँदो शैक्षिक सत्र नै प्रभावित हुने उल्लेख गरिएको छ। तलब रोकिँदा जीविका धान्न, छोराछोरीको शुल्क र बैंकको ऋणको ब्याज तिर्न समेत समस्या भईरहेको ज्ञापनपत्रमा लेखिएको छ।
नगरक्षेत्रभित्र ५९ सामुदायिक विद्यालयका करिव ५ सय शिक्षक कर्मचारीले पछिल्लो ४ महिनादेखि तलव पाएका छैनन्।
केही दिनअघि नगरपालिकाका कर्मचारीहरुले पनि खाता सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए। नगरापलिकाको खाता रोक्का भएकाले यहाँका प्रशासन, स्वास्थ्य र अन्य करिव ३ सय कर्मचारी पनि नियमित तलव सुविधाबाट वञ्चित भएका छन्।
यहाँ प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा छन्। झालाई केही दिन अगाडि मन्त्रालयले सरुवा गरेर खिम भुजेललाई पठाएको थियो। अनिवार्य अवकास हुन ६ महिना भन्दा कम भएकोले सरुवा नियम संगत नभएको भन्दै झाले सामान्य मन्त्रालयलाई विपक्षी बनाएर प्रशासकीय अदालतमा मुद्दा दायर गरेका थिए। प्रशासकीय अदालतले फागुन ११ गतेको सरुवालाई यथास्थितिमा राख्न निर्णय गरेका छन।
प्रशासकीय अदालतले निर्णय गरेपनि मन्त्रालयले नगरपालिकाको खाता रोक्का फुकुवा गरेको छैन्। फुकुवा नहुँदा नगरपालिकाको आर्थिक कारोबार ठप्प जस्तै छ। झालाई मन्त्रालयले मंसिर २१ गते निर्णय गरेर पुस २० गते सरुवा गरेका थिए। त्यसपछि माघ २९ गते अधिकृत झाले प्रशासकीय अदालत मुद्दा दर्ता गरेका थिए।






















