सुधा देव
सप्तरी, १५ चैत। समयको आवश्यकताअनुसार अंग्रेजी भाषाको माग बढेसँगै सप्तरीका अभिभावक र विद्यार्थीहरूको रोजाइमा अंग्रेजी माध्यम सञ्चालन हुने सामुदायिक विद्यालय पर्न थालेका छन्।
हाल राजविराज नगरपालिकाभित्रका राजविराज ३ स्थित के।अ मावि, राजविराज १ चनौराको राष्ट्रिय आधारभूत विद्यालय, राजविराज ७ स्थित रमेश नारायण दास विद्यालय, राजविराज ६ स्थित आधारभूत विद्यालय, थानगाछी र राजविराज ११ झल्ही मोतीपुरस्थित जनता आधारभूत विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन भइरहेको छ।
विशेष गरी जनता आधारभूत विद्यालयले अंग्रेजी माध्यम सुरू गरेपछि विद्यार्थीको शैक्षिक स्तर सुधार भएको स्थानीयहरूले बताएका छन्। यहाँ बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ र १ सय ५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले २०६५ देखि अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आएको प्राधानाध्यापक गंगा यादवले जानकारी दिए।
उनले भने, ‘विद्यार्थीको संख्या, उपस्थिति र गुणस्तर राम्रो छ। अनुगमन आएर मूल्याङ्कन भए अझ राम्रो हुन्थ्यो। स्थानीय समुदायले पनि विद्यालयको कामको सम्मान र सहयोग गर्दै आएको छ।’
राजविराज नगरपालिका २ का शिला कर्णले भने, ‘सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी माध्यम सुरू भए अभिभावकहरू विद्यार्थी भर्ना गर्न संकोच गर्दैनन्।’
तर राजविराज १३ का रामलखन यादवले भने, ‘अंग्रेजी माध्यम सुरु भए पनि सोचे जस्तो प्रभावकारी हुन सकेको छैन।’
राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र यादवले पनि इंगित गरे कि उद्देश्यअनुसार प्रभावकारिता प्राप्त भएको छैन।
इन्टेलेक्चुअल नेपाल सप्तरीका अध्यक्ष डा. सूर्यप्रसाद यादवले भने, ‘कक्षा पाँचसम्मको विद्यालयमा विद्यार्थी संख्या ३०–५० मात्र भएकोले मर्ज गरेर अंग्रेजी माध्यम सञ्चालन गर्न सके मात्र प्रभावकारी हुने हो।’ जनता आधारभूत विद्यालयमा गुणस्तरीय शिक्षा र उचित व्यवस्थापनका कारण अभिभावक र विद्यार्थीहरूको आकर्षण बढेको बताइएको छ।






















