काठमाडौं, १३ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो। मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन।
रास्वपाले प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम टुंगो लगाएको छ। शुक्रबार बिहान बसेको बैठकको निर्णय अनुसार बालेन्द्र शाह प्रधानमन्त्री, स्वर्णिम वाग्ले अर्थमन्त्री, सोबिता गौतम कानुन, शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, सुधन गुरुङ गृहमन्त्रीमा सिफासिरस भएका छन्।
त्यसैगरी, उद्योगमन्त्रीमा अमरेशकुमार सिंह, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, गीता चौधरी कृषीमन्त्री, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, श्रममन्त्री दीपक साह, शिक्षामन्त्रीमा सस्मित पोखरेल, पर्यटनमन्त्री खडक (गणेश) पौडेल, महिलामन्त्री सीता वादी र स्वास्थ्यमन्त्रीमा निशा मेहता हुने भएको छ।























