राजविराज, १२ चैत। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरियास्थित खेलमैदानमा सञ्चालित ‘संयासी गोल्ड कप’फुटबल प्रतियोगिता २०८२ को उपाधी मलिथम एफसी उदयपुरले हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा संयासी युवा क्लब पोखरियाद्वारा सञ्चालित सो प्रतियोगिता अन्तर्गत आज बिहीबार सम्पन्न फाइनलमा सोमबारे एफसी उदयपुरलाई ट्राईब्रेकरमा  चारका बिरुद्ध पाँच  गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो।  खेलको निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियोे। 

उपाधीसँगै मलिथम एफसीले नगद  एक लाख पाँच रुपैयाँ र शिल्ड हात पारेको छ भने उपबिजेता  सोमवारे एफसीले नगद ७५ हजार पाँच रुपैयाँ र कपमा चित बुझाएको आयोजक समितिका सचिव श्रवणकुमार चौधरीले जानकारी दिए। उत्कृष्ट खेलाडी   सोमबारे विवेक राईले नगद दुई हजार एक सय रुपैयाँ प्राप्त गरेको छ। 

प्रतियोगिता पश्चात् आयोजक समितिका अध्यक्ष  धनीलाल चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि पुर्व युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, शम्भुनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष इन्द्रकान्त चौधरी, आयोजक समितिका सचिव श्रवण कुमार चौधरी, कोषाध्यक्ष अमित कुमार चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। यही चैत ६ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सुनसरी, सिरहा, मोरङ, धनुषा र उदयपुका गरि  आठ वटा टीम सहभागिता थियो।