सिराहा, १० चैत। सिरहा प्रहरीले प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित छुट्टाछुट्टै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले गोलबजार नगरपालिका ५ का २५ वर्षिय अनिल चौधरी र ३३ वर्षिय बलिराम महतोलाई पक्राउ गरेको हो।
चौधरीलाई गोलबजार नगरपालिका ४ निपनियाँ टोलबाट १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। चौधरीले आफूलाई महतोले बेच्न पठाएको भन्ने सूचनाका आधारमा खोज्दै जाँदा लहान नगरपालिका १ भाईरलबाबा टोलबाट थप १० ग्राम २५० मिलिग्राम ब्राउन सुगरसहित महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
महतो लहानमा आफ्नो ससुरालीमा बसेर व्यसाय सञ्चालन गर्दै आएको भन्ने सूचनाको आधारमा लहान प्रहरीसँग आवश्यक समन्वयगरी घर खान तलासी गरेका थिए। खान तलासीको क्रममा गुलावी रंगको १६३ वटा प्लास्टिक पोका फेला परेको थियो।
प्रहरीले महतोको साथबाट २० हजार ३१० रुपैयाँ नगद, एक थान बोवाईलसमेत बरामद गरेको छ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको जनाएको छ।






















