सिरहा, ६ चैत। सिरहा जिल्ला अदालतअगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेखापढी व्यसायी सुखीपुर नगरपालिका ३ का गुमस्ता यादवलाई शंकाको आधारमा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। उनले शंकाको आधारमा एक जनालाई पक्राउ गरेको र हाल चार दिनदेखि अनुसन्धान भईरहेको बताए।
अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने उनले बताए। पक्राउ परेका यादव सिरहा अदालतअगाडि कार्यालय खोलेर लेखापढी गर्दै आइरहेका थिए।
विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका थिए। घाइते हुनेमा सिरहा नगरपालिका १ निवासी सौरभ यादव छन्। उनको खुट्टामा चोट लागेको थियो। घटनामा कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको थियो। विष्फोट गत फागुन २७ गते अपरान्ह भएको थियो।






















