सिरहा, २ चैत। सिरहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो सेना, पुलिसलाई लुटेरा भन्दै विवादमा परेका छन्। आफ्नै बोलिकाका कारण बेलावखत विवादमा परिरहने मेयर महतो हालै सम्पन्न प्रतिनिधीसभा निर्वाचनको क्रममा नगरपालिकाको प्रशासनिक भवनबाटै सिरहा क्षेत्र नम्वर २ को निर्वाचन कार्यालय सञ्चालन रहेकोले निर्वाचन कर्मचारी, सेना, प्रहरीबाट पालिकाको बजेट लुटिने (दुरुपयोग) हुनसक्ने अभिव्यक्ति दिएपछि विवादमा परेका हुन्।
पालिकाको बैंक खाता रोकिएको विषयमा संचारकर्मी रामभसोसी यादवले ‘तपाईंले पालिकाको बैंक खाता रोक्का गर्नु भएको सुनेको छु, किन होला? भन्ने जिज्ञासामा मेयर महतोले भने, ‘चुनावको समयमा मिसयुज हुन सक्ने भनेर खाता रोक्का गरिएको हो। निर्वाचन कार्यालय पालिकाको प्रशासनिक भवनमा स्थापना भएको तपाईलाई जानकारी छ कि छैन? हाम्रो कार्यालयमा निर्वाचन कार्यालय स्थापना भएको थियो। त्यहाँ निर्वाचन अधिकृतले २÷४ सय लिटर तेल चलायो भने तपाईं दिनुहुन्थ्यो? खाता बन्द गरिनुको पनि कुनै कारण हुन्छ नी। त्यही भएर खाता बन्द गरिएको हो। त्यहाँ सयौं सेना, प्रहरी खटिएको थियो। बन्द नगरेको भए मेरो हजार वहानामा पाँचौ÷दशौंलाख पैसा लुट्ने थियो।’
पत्रकार यादवले पुनः प्रश्न गरे, ‘कसले लुट्ने कुरा गर्नुभएको? मेयर महतोले पुनः दोहर्याए, ‘सेना प्रहरीले, निर्वाचनको नाममा यो चाहियो, त्यो चाहियो, भनेर माँग्थे, म कतिलाई रोक्न सक्थे।’ अब चाँडै खुल्छ।’
यता जिल्ला निर्वाचन कार्यालय क्षेत्र नम्वर २ का अधिकृत नवराज जोसीले नगरपालिकासँग भौतिक सामाग्रिहरुमात्र प्रयोग गरेको बताए। उनले नगरापलिकाबाट भवन, टेवल, कुर्सी, कम्प्यूटर, प्रिन्टर जस्ता बस्तुमात्र प्रयोग गरेको बताए।
उनले नगरपालिकाका गाडी प्रयोग गरेको भएपनि त्यसमा लाग्ने तेल, नगरपालिकामा रहेको जेनेरेटरमा लाग्ने तेल समेत आफैले हालेको बताए। उनले भने, ‘हामीले कम्प्यूटर प्रिन्टर प्रयोग गरेपनि त्यसमा प्रयोगहुने कार्टिज र पेपर आफ्नै हो। र जेनेरेटर प्रयोग नभएपनि एक सय लिटर तेल हालिएको छ।’
खाता रोक्काको कारण मेयर महतोले भनेजस्तो नभएको एक वडा अध्यक्षले बताए। उनले भने, ‘बाहिर भनेजस्तो होइन, यहाँ ग्राभेल उत्खनन र निकासिको विषयमा कर्मचारी र केही जनप्रतिनिधीहरुको कुरा नमिलेपछि तलव बाहेकको खाता रोक्का गरिएको हो।’






















