लहान, १ चैत। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नम्वर १ का नेपाली काँग्रेसका उम्मेदवार रामशंकर चौधरीलाई असहयोग गरेको भन्दै पार्टीका नेता–कार्यकर्तामाथि गरिएको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवम् लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गरेको कारबाहीको कदमप्रति क्षेत्रीय सभापति पदका प्रत्यासी उम्मेदवार कन्हैया प्रसाद गुप्ताले आज लहानमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो।
पत्रकार पत्रकार सम्मेलनमा बोल्दै नेता गुप्ताले पार्टीका पूर्व मन्त्री, केन्द्रीय सदस्य, महासमिति सदस्य र जनप्रतिनिधी जस्ता संगठनका खम्बा मानिने निष्ठावान कार्यकर्तामाथि लगाइएको ‘असहयोग’ आरोप पूर्णतः झुठा, भ्रामक र कपोकल्पित रहेको बताए।
संगठन निर्माणमा अहोरात्र खटिएका कार्यकर्ताहलाई ५ वर्षका लागि निष्कासन गर्ने सिफारिस राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित रहेको उनको दाबी छ।
निर्वाचनको समीक्षा र एकता हुनुपर्ने समयमा इमानदार कार्यकर्तालाई निसाना बनाइँदा पार्टीको आन्तरिक संगठनमा गम्भीर क्षति पुग्ने भन्दै नेताहरूले यस निर्णयको विरोध गरेका छन्। यस घटनाले सिरहा कांग्रेसभित्रको आन्तरिक कलहलाई थप सतहमा ल्याइदिएको छ।






















