लहान, २३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न मतदानको जारी गणनामा सिरहाका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर अग्रता लिइरहेको छ।  

मतगणनाको शनिबार बिहान ७ बजेसम्मको परिणाम अनुसार १५ हजार ५१२ मत गणना गर्दासम्म सिरहा १ मा रास्वपा उम्मेदवार बब्लु गुप्ताले ८ हजार ६७४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामसुन्दर चौधरी १ हजार २३४, नेकपा एमालेका रामशंकर यादव २ हजार ६, नेकपाका रामचन्द्र यादव १ हजार ३७३, जसपाका सत्यनारायण यादव ५३७, जनमत पार्टीका रामस्वरुप चौधरीले ३५५ मत प्राप्त गरेका छन्। 

सिरहा २ मा रास्वपाका शिवशंकर यादवले २१ हजार ८२ मत ल्याउँदा कांग्रेसका रामचन्द्र यादव ६ हजार १७०, एमालेका नविनकुमार यादव २ हजार ९६१, जसपाका संजिवकुमार यादव २ हजार ५२४, नेकपाका मुक्तिनारायण सिंह १ हजार १५०, जनमत पार्टीका विनोद यादवले १ हजार ४४४ मत ल्याएका छन्। 

क्षेत्र नं। ३ मा रास्वपाका शम्भुकुमार यादवले १२ हजार ५२८ मतसहित अग्रता लिंदासम्म नेकपाका विश्नाथ साह ६ हजार १५२, एमालेका लिलानाथ श्रेष्ठ ५ हजार ८६७, कांग्रेसका सुभाषचन्द्र यादव २ हजार ६३७, जसपाका अशेश्वर यादवले १ हजार ८९१ मत ल्याएका छन्। 

क्षेत्र नं. ४ मा रास्वपाका उम्मेदवार तपेश्वर यादवले १८ हजार ४८६, नेकपाका अजयशंकर नायक ३ हजार २७६, नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादव २ हजार ७७२, जनमत पार्टीका बिरेन्द्रप्रसाद महतो २ हजार ६२४, नेकपा एमालेका धर्मनाथप्रसाद साह २ हजार ३००, जसपा नेपालका राजकिशोर यादव २ हजार २६७ मत ल्याएका छन्।