लहान, २२ फागुन प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतदानपछि शुक्रबार बिहान सवा १० बजेखि शुरु भएको सिरहा १ नं. क्षेत्रको पनि मतगणना शुरु भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले हरेक निर्वाचन क्षेत्रको मतगणना स्थलमा सुरक्षा घेरा बाहिरबाट संचारकर्मीलाई चुनाव चिन्हमा स्वस्तिक छाप लागेको नदेखिने गरी गणना शुरु हुनुअघि मतपेटिका खोलिंदै गर्दा, मतपत्र खसाल्दै गरेको तथा गणनामा बसेकाहरुको फोटो र भिडियो खिच्न दिने भनिए पनि सशस्त्र प्रहरी बलसहितका सुक्षाकर्मीहरुले रोक लगाएका छन्। लहान नगरपालिका १० ग्रामीणस्थित नगरसभा हलमा शुक्रबार बिहानदेखि थालिएको सिरहा १ को गणनास्थलको मुख्य गेटबाट भित्र प्रवेश गर्न नै सशस्त्र प्रहरी बलका प्रहरीले ‘माथिको आदेश’ भन्दै अत्यन्त कडाई गरेका छन्। निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतले भनेपछि जसोतसो परिसरमा प्रवेश दिइएपनि हलभित्र सुरक्षा घेरा बाहिरको तारजाली नजिक पुगेर फोटो भिडियो खिच्न समेत सशस्त्र प्रहरीले अवरोध गरेको राष्ट्रिय समाचार समिति लहानका प्रमुख सुदिप राउतले बताए। सिरहा १ का निर्वाचन अधिकृत फणिन्द्रराज भट्टराई तथा सहायक निर्वाचन अधिकृत राधेश्याम यादवको सिफारिशमा गणस्थलमा प्रवेश दिइएको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने अनुसार केही गर्नै नपाई फर्किनु परेको उनले बताए। सशस्त्र प्रहरी नेपाल नं. ७ गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले मतगणनास्थलमा संचारकर्मीलाई आचारसंहिताले रोकेको बाहेक संचार सम्बन्धी काम गर्न अवरोध नहुने बताए तथापि सिरहा १ को गण्नास्थलमा के भएको हो भन्ने विषयमा बुझेर फिल्ड कमाण्डरलाई निर्देशन दिइने उनले बताए। निर्वाचन कार्यालयका अनुसार बिहीबार भएको मतदान अन्तर्गत १ नं. क्षेत्रमा धनगढीमाई नगरपालिका १, २, लक्ष्मीपुरपतारी गाउँपालिका २ र ६, लहान नगरपालिका १ देखि २४, सखुवानन्कारकट्टी तथा भगवानपुर गाउँपालिकाको १ देखि ५ नं. सम्म गरी कुल ४१ वडा पर्ने यो क्षेत्रमा पुरुष ५८८५५, महिला ५३०९४ गरी कुल एक लाख ११ हजार ९४९ मतदाता रहेकोमा १३० मतदान केन्द्रमा रहेका १ लाख ११ हजार ९४९ मध्ये ७० हजार ७६५ मत खसेको थियो।