मणिलाल विश्वकर्मा

लहान, २० फागुन। सिराहाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने औरही गाउँपालिका– १, हरकट्टीस्थित आधारभूत विद्यालयको मतदानस्थल पुनः कायम भएको छ।

उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशद्वय सुशील कोइराला र अचुतमकुमार आचार्यको संयुक्त इजलासले १७ फागुनको उत्प्रेषण परमादेशबमोजिम हरकट्टीमा पुनः मतदानस्थल कायम गरेको हो।

अदालतको आदेशबमोजिम मतदानस्थल कायम भएपछि पुनः सोही मतदानस्थलमा मतदान गराउन कर्मचारीहरू निर्वाचन सामग्री, सुरक्षाकर्मीसहित मतदानस्थल पुगिसकेका जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ। मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदानस्थल पुनरावलोकन गरी गत २ मंसिरको निर्णयबमोजिम आधारभूत विद्यालय हरकट्टीमा मतदानस्थल थप गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको थियो। सोहीअनुसार आयोगले २१ मंसिरमा सूचना प्रकाशित गरी हरकट्टीमा मतदानस्थल कायम गरेको थियो।

उक्त निर्णयविरुद्ध औरही– १ का सुरैतलाल ठाकुर, रतनकुमार नायक, रामकुमार यादव, रामकला यादव र श्रवणकुमार ठाकुरले जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारीसहित जिल्ला निर्वाचन कार्यालय, प्रदेश निर्वाचन कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर २ पुसमा उत्प्रेषण परमादेशको रिट दर्ता गरेका थिए।

रिट दर्तापछि न्यायाधीशद्वय उज्ज्वल शुक्ल र अचुतमकुमार आचार्यको संयुक्त इजलासले गत २८ पुसमा औरही– १ आधारभूत विद्यालयको मतदानस्थल थप गर्ने गरी केन्द्र तोक्ने सिफारिस एवं निर्णय विपक्षी आयोगबाट २१ मंसिरमा प्रकाशित सूचना कार्यान्वयन गर्नू–नगराउनू, यथास्थितिमा राख्नु भन्ने आदेश दिएको थियो।

अदालतको आदेशविरुद्ध स्थानीय बासिन्दा हरकट्टीमा मतदानस्थल कायम गर्न माग गर्दै वडा कार्यालयको गेटमा ८ फागुनको दिनभर धर्ना बसेका थिए। केन्द्र कायम नगरिए प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानसमेत बहिष्कार गर्ने स्थानीयको चेतवानीपछि श्रवणकुमार ठाकुरबाहेकका रिट निवेदकहरूले फिर्ताका लागि अदालतमा निवेदन दिएका थिए।

आधारभूत विद्यालय हरकट्टी मदानस्थलको ‘क’ र ‘ख’ केन्द्रमा क्रमशः ५६० र ५९४ गरी एक हजार १५४ मतदाता छन्। त्यसअघि २०७९ को निर्वाचनमा दुवै गाउँका मतदाताहरूले मावि हरकट्टीमा मत खसालेका थिए।

Adalat-Aadesh20