सिरहा, २० फागुन। प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नम्वर ३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जना पक्राउ परेका छन्। मौनअवधिका बेला नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
माडरबाट सिरहा सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उक्त रकमसहित ५ जनालाई पत्रफाउ गरेको मधेश प्रदेश प्रहरीका सूचनाअधिकारी प्रहरी बरिष्ठ उपरीक्षक कमल थापाले जानकारी दिए।
जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले गाडीबाट नमुना मतपत्रसमेत फेला परेको दाबी गरेको छ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी जनाएको छ।





















