सिरहा, १६ फागुन। जिल्ला प्रशासन कार्यालय सिरहाले यस वर्षको होली पर्व घरमै शान्तिपूर्वक मनाउन सर्वसाधारणसँग आग्रह गरेको छ। पत्रकारहरुसँगको भेटमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकै मुखमा होली पर्व परेकाले मौन अवधिको मर्यादा कायम राख्दै पर्व मनाउन आग्रह गरेका हुन्।

निर्वाचनको मौन अवधिमा होलि परेकाले यो विशेष अवस्थालाई ख्याल गर्दै होहल्ला, भीडभाड नगरी होलि पर्व मनाउन प्रमुख जिल्ला अधिकारी पौडेलले सुझाव दिए।

‘होलिको समयमा मादक पदार्थ समेवन गर्ने, होहल्ला तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरेर अनावश्यक सवारी साधन सञ्चालन नगरी घरपरिवारमै  रही होली मनाऔं, प्रशासनको अनुरोधलाई वेवास्ता गरे कानुन बमोजिम कार्वाही हुने बताए। उनले भने, ‘होलिको नाममा कसैले मादक पदार्थ सेवनगरी होलल्ल गरे र चलाएको सवारी साधन नियन्त्रणमा लिने र चुनावपछिमात्र फिर्ता हुने छ। त्यसैले कुनै पनि व्यक्तिले प्रशासनको अनुरोधलाई वेवास्ता नगर्नु होला।’

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै नागरिकको साथ आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

निर्वाचनको मुखमा परेको होलीलाईसमेत ध्यानमा रख्दै सिरहामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लाभर १ हजार ४०० नेपाल प्रहरी, ८०० सशस्त्र प्रहरी बल, ८ सय नेपाली सेना र ३ हजार ७५७ निर्वाचन प्रहरीसहित कुल ६ हजार ७५७ सुरक्षाकर्मी खटाइएको छ। प्रत्येक चौक–चौकमा सुरक्षाकर्मी परिचालन गरिनुका साथै मोबाइल टोलीसमेत सञ्चालन गरिने उनले जानकारी दिए।