मकवानपुर, १२ फागुन। हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले यातायात कार्यालयमा कार्यरत छैटौँ तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाका रूपमा कार्यरत लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई सेवाग्राहीसँग  ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। 

सवारी सरुवा सहमतिको कामका लागि सेवाग्राहीसँग घुस माँग गरिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित कार्यालय परिसरबाटै दुवै जनालाई रङ्गेहात समातेको आयोगले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल सेट समेत बरामद भएको छ। सेवाग्राहीको काम गरिदिने बहानामा रकम लेनदेन भइरहेको उजुरी परेपछि अख्तियारले केही समयदेखि उनीहरूमाथि निगरानी बढाएको थियो। 

पक्राउ परेका दुवै जनालाई अहिले हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।