जनता आधारभुत विद्यालय, सिरहा नगरपालिका २१ लक्ष्मीनियाँ मलियाटोल अगाडीको बाटो।
आशिष विश्वकर्मा
सिरहा, १२ फागुन। सिरहा नगरपालिका २१ लक्ष्मीनियाँ मलियाटोलमा अवस्थिति जनता आधारभुत विद्यालय सामान्य वर्षामा पनि विद्यार्थी विहिन जस्तै हुन्छ। विद्यालय पुग्न मैनावत्ति खोलाको पूर्वी शाखा नाघेर जानुपर्ने भएकाले सामान्य वर्षामा पनि विद्यालय आईपुग्न कठिन हुनेगरेको हो।

खोलाको पश्चिमी किनारमै रहेको ५ कक्षासम्म अध्यापन हुने यस विद्यालयमा २९१ जना विद्यार्थीको नामाङ्कन छ। तर असार लागेपछि भने विद्यालय नबन्द जस्तै हुने गरेको स्थानीयहरु बताउँछन्।
खोला तर्ने पुल नभएकै कारण बेला–बेलामा विद्यालयको पठन–पाठन प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक मो. अजमत अलिले बताए। उनले भने, ‘पानी पर्ने वित्तिकै विद्यालय अगाडी नै धेरै पानी जम्छ। विद्यार्थी पानी तर्नै सक्दैन, कसरी विद्यालय आइपुग्छ? विद्यालय विद्यार्थी विहिन जस्तै हुन्छ।’
विद्यार्थीमात्र हैन लक्ष्मीनियाँ मलियाटोलका करिव २५० भन्दा बढी घर परिवारलाई सामान्य पानीपर्दा पनि खेत– खलियान, हाटबजार, विद्यालय आउजाउ गर्न मुस्किल हुने गरेको छ। खोला तर्ने कुनै उपाय नभएकाले आफूहरु पानीमै हेलिएर हिड्नुपर्ने बाध्यता रहेको स्थानीय संजय कुमार गुप्ताले दुखेसो गरे।
उनले भने, ‘सामान्य पानी पर्दापनि जम्ने भएकाले हामीले वर्षौंदेखि समस्या भोग्दै आएका छौं। पानीको उचित निकास नहुँदा जम्ने गरेकाले झन ठूलो समस्या हुने गरेको छ। पानी जमेकाले अहिले हिउँदको बेला पनि यहाँको बाटो हिलाम्य छ।’
स्थानीयले आफ्नै पहल र लगानीमा बाँसको पुल बनाएर आउजाउ गरेपनि मसिना नानीहरुलाई विद्यालय आउन भने कठिनाई हुने गरेको स्थानीयको भनाई छ।
यो खोलामा पुल बनाउने आश्वासन र बाचाँ दिएर यस क्षेत्रबाट जितेका व्यक्तिहरु सांसद मन्त्री भए तर पनि हाम्रो समास्याको कुनै सुनवाई भएन। ‘अघिल्ला निर्वाचनमा पनि यो पुल निर्माण गर्ने बाचा उम्मेद्वारहरुले गरे। हार्नेहरु त फर्केर आउँ आउनु नै भएन, जितेर गएका उम्मेदवारको पनि हामीले मुखदेख्न पाएनौं;’ स्थानीय राजकिशोर यादवले भने।’
यो बस्ती अहिले सिरहाको निर्वाचन क्षेत्र नम्वर ३ मा पर्छ। यहाँबाट लागातार दुई कार्यकाल २०७४ र २७९ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएका थिए। यहाँका नगर प्रमुख पनि एमालेकै नविन कुमार यादव छन्।
अहिले यहि फागुन २१ मा आकस्मिक हुन गईरहेको निर्वाचनको चटारो छ। उम्मेदवारहरु गाउँमा आएर पुनः आश्वासन, बाचा र भरोसाको पुलिन्दा फिलिरहेका छन्। तर, जनता विश्वस्त हुन सकिरहेका छैनन्। लक्ष्मीनियाँ मलियाटोलका जनता बाचा, घोषणा र प्रतिबद्धता गर्ने नेताभन्दा पनि इमान्दार कार्यान्वयन गर्ने उम्मेदवारको खोजिमा छन्।
यस निर्वाचनका लागि यस क्षेत्रबाट नेपाली काँग्रेसका शुभासचन्द्र यादव, नेपाली कम्यूनिष्ट पार्टी(नेकपा)बाट विश्वनाथ साह, नेकपा एमालेबाट लिलानाथ श्रेष्ठ, जनता समाजवादी बार्टी(जसपा)बाट अशेश्वर यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शभ्भु कुमार यादव, उज्यालो नेपाल पार्टीका श्रवण पासवानसहित १२ वटा दलका र २९ जना स्वतन्त्रसहित ४१ जनाले उम्मेदवारी दिएका छन्।






















