जनकपुरधाम, ११ फागुन। धनुषामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार महिला प्रहरीको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार महोत्तरीको बर्दिबास नगरपालिका ९ का इलाका प्रहरी कार्यालय हरिपुर, सर्लाही दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीमा कार्यरत करिव २६ वर्षिय प्रहरी जवान चन्द्रकला कुमारीको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा लेखा प्रमुखको रूपमा कार्यरत इन्सपेक्टर विजय कुमार यादव घाइते भएको प्रहरीले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित विश्वकर्माचोकमा मुरली चोकबाट जिरोमाईलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०१०४ नं. को टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नं. को मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो।

घाइते चन्द्रकलालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको छ। 

मृतक चन्द्रकला सरकारी कामकाजको सिलसिलामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दुवै सवारी साधन र टिपर चालक धनुषाको मिथिला नगरपालिका २ आनन्दपुर बस्ने ३० वर्षीय सुनिल रविदास जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन्।