काठमाडौं, ११ फागुन। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदी नजिकै गएराति बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। ग.२ ख १४२१ बस दुर्घटना भएको हो। ४४ जना सवार बसमा २८ जना घाइते घएका छन्। उनीहरुको उद्धार गरी अस्पताल पठाइएको छ।

दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो।  

मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक भएको खुलेको छ। तर, प्रहरीले अहिलेसम्म मृतकहरुको परिचय खुलाएको छैन। घाइते २८ जनाको नामावली भने प्रहरीले सार्वजनिक गरेको छ। 

दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले मृतक र घाइतेको उद्धार गरेका थिए। 

दुर्घटनाको कारण खुलेको छैन। उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो।