सप्तरी, ८ फागुन। सप्तरीबाट बालिका अपहरण गरी फिरौती मागेको आरोपका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।अपरणमा परेकी खड्क नगरपालिका ८, बिसनपुर निवासी ७ वर्षीय नेहा खातुनको सकुशल उद्धार गरी फिरौती माग्ने सोही नगरपालिका ९, लालपट्टीका ३० वर्षीय ईम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट प्रहरी निरीक्षक संजिव बोगटी र प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्रप्रसाद यादवको कमान्डमा खटिएको टोलीले बिहीबार साँझ रुपनी १ खाँडोबाट ईम्तियाज अहमदलाई नियन्त्रणमा लिएको हो। उनलाई यिन्त्रणमा लिएर नेहालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले जानकारी दिए।
मङ्गलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि उनको परिवारजनले प्रहरीलाई खवर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
एसपी केसीका अनुसार अपहरण गर्ने ईम्तियाजले बिहीबार बालिकाको बुवा इमरान खानलाई फोन गरी फिरौती लिएर रुपनी गाउँपालिका १, खाँडो खोला बोलाएको थियो।
नियन्त्रणमा लिइएको ईम्तियाज अहमदलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।





















