लहान, ६ फागुन। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र प्रभावकारी कार्यान्वयनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुनेमा सरोकारवालाहरूले जोड दिएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा रासस लहान कार्यालयद्वारा आयोजित ‘निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो धारणा राखेका हुन्। वक्ताहरूले निर्वाचनका बेला मतदातालाई सही, सन्तुलित र तथ्यमा आधारित सूचना उपलब्ध गराउनु सञ्चारकर्मीको मुख्य दायित्व भएको बताए।
कार्यक्रमका प्रमुख अतिथि एवम् सिरहाका मुख्य निर्वाचन अधिकृत डा. श्रीप्रका उप्रेतीले निर्वाचन आचारसंहिता उम्मेदवार वा सरकारी निकायको मात्र नभई सम्पूर्ण सरोकारवालाको साझा सरोकारको विषय भएको उल्लेख गरे। उनले भने, ‘राज्यको चौथो अङ्ग पत्रकारिताले कुनै उम्मेदवारको पक्ष वा विपक्षमा नलागी समाजलाई सही सूचना दिनुपर्छ। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायबीच समन्वय आवश्यक छ।’
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निर्वाचन आचारसंहितालाई ध्यान दिँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न पत्रकार लगायत सबै पक्षले सहयोग गर्नुपर्ने बताए। उनले आचारसंहिता उल्लङ्घनका घटनाको उजुरीको सूक्ष्म रूपमा अध्ययन र सचेतीकरण समेत गरिएको जानकारी दिए। ‘कहीँ कतै आचारसंहिता विपरीतका कार्य भएमा जिल्ला अनुगमन समितिमा उजुरी दिन आग्रह गर्दछु,’ उनले भने।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा एसपी बासुदेव पाठकले प्रहरी र पत्रकार दुवैले समाजको लागि काम गर्ने अंग भएको भन्दै निर्वाचनको समयमा पत्रकारले पहिचानसहित सुरक्षा संवेदनशीलता र गोपनीयतालाई ध्यान दिन जोड दिए।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले निर्वाचन आचारसंहिताका प्राविधिक र कानुनी पक्षबारे प्रस्तुतीकरण दिए।
लेखक तथा विश्लेषक राजेश विद्रोहीले आचारसंहिता नैतिकतासँग जोडिएको विषय भएको भन्दै प्रविधिको सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले राससको औचित्य अझै पनि उत्तिकै भएकाले यसको निष्पक्षता र स्वच्छ छविलाई थप निखार्दै लैजानुपर्ने बताए।
व्यवसायी तथा जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानका निवर्तमान अध्यक्ष विकास सारडाले हरेक व्यवसायी निर्वाचनताका मारमा पर्ने गरेको गुनासो गरे। नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी वरिष्ठ उपाध्यक्ष निर्मला दाहालले पत्रकारले निर्वाचनको सुरुदेखि अन्त्यसम्म समाचार सङ्कलन, प्रकाशन तथा प्रसारण गर्दा संयमित भएर रिपोर्टिङ गर्नुपर्ने धारणा राखे।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण आम सञ्चारमाध्यमलाई प्रभाव पार्ने गरेकाले सोतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताए। राष्ट्रिय समाचार समिति लहानका प्रमुख सुदिप राउतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न सञ्चार माध्यममा संलग्न स्थानीय तथा राष्ट्रिय मिडियाका पत्रकारहरूको उपस्थिति रहेको थियो।






















