जनकपपुरधाम, ६ फागुन। नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसको नेता हुन नभएर छोरा हुन मधेस प्रदेशमा आएको बताएका छन्। 

जनकपुरधाममा बुधबार आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले मधेस आउनुको कारण खुलाएका हुन्। ‘मधेसको नेता हुन होइन, मधेसको बेटा हुन आएको हुँ,’ थापाले भने। 

उनले आफ्नो नशामा मधेसरको रगत नभए पनि छातीमा मधेसको सपना भएको जिकिर गरेका छन्। ‘मेरो नशामा मधेसको रगत छैन, ढाट्दिन। मेरो छातीमा दुर्गानन्द झाको सपना छ,’ उनले भने। 

jpur_gagan

त्यसैले मधेसको सपना पूरा गर्न मधेस आएको उनको भनाइ थियो। ‘मधेसको माईको सपना पूरा गर्न आएको छु। यहाँ डुब्न आएको छु, यहाँको सपना बोक्न आएको छु,’ थापाले भने। 

उनले मधेसलाई सम्मान बढाउने देश बनाउन मधेस आएको बताएका छन्। ‘म यस्तो नेपाल बनाउन चाहन्छु, काठमाडौँले मायाका साथ मधेसलाई सम्मान गरोस्,’ उनले भने। 

कांग्रेसले मधेसबाट देशको राष्ट्रपति बनाएको जिकिर गरे। अब मधेसबाट प्रधानमन्त्री बनाउने वेला आएको उनको भनाइ थियो। ‘अब मधेसकै प्रधानमन्त्री बनाउने हो,’ उनले भने। 

मधेसमा देखिएको स्वास्थ्य समस्या समाधान गर्ने आफ्नो सपना भएको सुनाए। बिरामी हुँदा कसैले पनि उपचार गर्न डराउने अवस्था आउन नदिन स्वास्थ्य बिमा ल्याएको उनले बताए। 

janakapur-gagan1 1

तर, आफू स्वास्थ्यमन्त्रीबाट बाहिरिएपछि त्यो काम अधुरै रहेको उनको भनाइ थियो। ‘मेरो सपना अधुरै रहेको छ। त्यो सपना पूरा गर्ने समय आएको छ,’ थापाले भने, ‘उपचार गर्दा एक पैसा खल्तीबाट तिर्न नपर्ने नेपाल बनाउँछौँ।’

उनले कृषिमा पनि मधेसमा धेरै काम गर्न सकिने बताए। मधेसको उत्पादनले पूरै देशलाई खुवाउन सक्ने उनको भनाइ थियो। ‘सिंगो देशलाई पेटभरी खुवाउन सक्ने उत्पादन हाम्रो मधेसले गर्छ, त्यो गर्ने संकल्प र योजना बनाएर आएका छौँ,’ थापाले भने। 

उनले कांग्रेसको शक्ति घृणा नभएको बताए। सबैलाई समेटेर र सबैसँग हातमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। ‘कांग्रेसको शक्ति घृणा होइन, प्रेम हो। कांग्रेसको शक्ति निषेध होइन, सबैलाई समावेश गर्ने हो,’ उनले भने। 

अबको पाँच वर्षमा देशबाट कुशासन हटाउनुपर्ने उनले बताए। त्यसका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गर्दै थापाले भने, ‘नेपालको कुसाशानलाई हराउनु छ। गरिबीलाई हराउनु छ, बेरोजगारीलाई हराउनु छ।’

(नेपालखवरबाटं)