सिरहा, ५ फागुन। सिरहाको कल्याणपुर नगरपालिका ५ स्थित माध्यमिक विदालय चिक्ना भोक्राका प्रधानाध्यापकको दोस्रो त्रैमासिकको तलवभत्ता पालिकाले रोकेर राखेको छ। पालिकाका कार्यवहाक मेयर रेखा कुमारी यादवको ठाडो निर्देशनमा विद्यालयका प्रधानाध्यापक राज कुमार साहको कात्तिक–पुसको दोस्रो त्रैमासिकको तलवभक्ता रोकेको हो।

प्रधानाध्यापक साहले विना कारण मेयरसावले आफ्नो तलवभक्ता रोकेर राखेको बताए। उनले भने, ‘हामी शिक्षकले तीन महिनामा तलव पाउने हो, पछिल्लो त्रैमासिकमा विद्यालयका सवै शिक्षकको तलव आयो, मेरै आएन छ। शिक्षाका एक कर्मचारीसँग बुझ्दा मेयरले केही वुझ्नु पर्ने भएकोले रोकीएको बताए।’

‘मेयर यादवले एक दिन फोन गर्नुभएको बेला मेरो फोन सेटमा नम्वर सेभनभएकाले मैले को बोल्नु भएको? भनेर सोधेको थिएँ;’ प्रधानाध्यापक साहले भने, ‘त्यहिदिन उहाँसँग सामान्य खटपट परेका कारण तलव रोकीएको हुन सक्छ। उहाँ भर्खरै कार्यवहाक मेयर बन्नु भएको हो। त्यसैले पनि नम्वर सेभ थिएन।’ 

त्यसैवेला मेरोमा नम्वर सेभ नरहेकोले चिन्न नसकिएको बताएको पनि प्रधानाध्याप साहले बताए। ‘त्यहि बेला मेयर यादवले पख देखाउँछु, भन्नुभयो। अहिले तलव नै आएन।’ प्रधानाध्यापक साहले भने। 

कक्षा ९ सम्म पढाई भईरहेको यस विद्यालयमा ४ जना स्थायी प्रावि शिक्षक, १ प्रावि अस्थाई, १ संघिय अनुदानको निमाशि र ४ जना बालविकासका सहयोगी कार्यकर्ता कार्यरत १० जना कार्यरत छन्। ६ जना शिक्षकको भरमा माध्यमिक तह सञ्चालनमा रहेको छ। 

प्रधानाध्यापक साह २०४४ सालदेखि यस विद्यालयमा कार्यरत छन्। 

नगरपालिकाका कार्यवहाक मेयर रेखा कुमारी यादवले प्रधानाध्यपक साहको नियुक्तिपत्र नै फर्जि रहेकाले तलव रोकीको जिकिर गरे। ‘पालिकामा २९ वटा सामुदायिक विद्यालयहरु छन्। सवैको तलव भएको छ। एक जनाकोमात्र तलव किन रोकियो होला? यो पनि तपाईहरु बुझ्नुस्।’ मेयर यादवले भने, ‘उहाँको नियुक्ति पत्र नै फर्जि भएकोले मैले तलव रोकेको हो।’

उनले आफूले आफ्नो अधिकार क्षेत्रभित्रै रहेका शिक्षकको तलव रोकेको समेत जिकिर गरे। उनले भने, ‘यो मेरो अधिकार क्षेत्रको कुरा हो। त्यसैले मेले तलव रोकेर छानविन गर्दै छु। त्यस्तै परे यो विषय अख्तियार सम्म जान सक्छ।’

यता पालिकाको शिक्षा शाखा प्रमुख जय प्रसाद दासले भने सामान्य समस्या रहेको बताए। उनले भने, ‘कागजि प्रक्रियामा सामान्य समस्या देखिएको छ। मेयरसावले हेर्छु भन्नुभएको छ। यो दुई चारदिनमा समाधान भईहाल्छ।’

शिक्षा विकास तथा समन्वय इकाई सिरहाले भने नियमित कामगरेका शिक्षक कर्मचारीको तलव रोक्नु कानुन विपरित कार्य भएको बताए। इकाईका प्राविधिक सहायक जय राम यादवले कुनै पनि कर्मचारीले कामगरेपछि उनले तलव भत्ता समयमै पाउनु पर्ने बताए। कुनै कागजान नमिलेको भए त्यसको जाँचका लागि सम्वन्धित निकायलाई जानकारी गराएर छानवित गर्दा राम्रो हुने यादवले सुझाव दिए।