काठमाडौं, ४ फागुन। सेना दिवस २०८२ को अवसरमा आइतबार राजधानीको टुँडिखेलमा हरेक वर्षजसो विशेष कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा अमेरिकी सेनाको ब्यान्डले दिएको प्रस्तुति यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सो प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन्। कतिपयले ब्यान्डको शैलीलाई लिएर मिम बनाएका छन् भने कतिपयले ‘नेपाली भूमिमा विदेशी सेनाको हस्तक्षेप सुरु भयो’ भन्दै भ्रामक र त्रसित तुल्याउने प्रयास समेत गरेका छन्।
यस सम्बन्धमा टेकपाना फ्याक्ट चेक डेस्कले गरेको अनुसन्धानले सेना दिवसको अवसरमा मित्र राष्ट्रका सैनिक ब्यान्डहरू सहभागी भई प्रस्तुति दिने प्रचलन नौलो नभएको पुष्टि पाइएको छ। यसअघि पनि अमेरिका, बेलायत र भारत लगायतका छिमेकी तथा मित्र राष्ट्रका सैनिक टोलीले सेना दिवसमा सहभागी भई आफ्नो प्रस्तुति दिइसकेका छन्। निर्वाचन नजिकिँदै गर्दा जनमानसमा अनावश्यक डर र भ्रम सिर्जना गर्ने उद्देश्यले ‘विदेशी सेना नेपाल छिरेको’ भनी सामाजिक सञ्जालमा फैलाइएका दाबी भ्रामक रहेको पुष्टि भएको छ।
दाबी
‘Naresh Ayer’ नामक फेसबुक प्रयोगकर्ताले आइतबार (१५ फेब्रुअरी) दिउँसो ३:४८ मा सेनाले परेड खेलेको भिडिओ शेयर गरेका छन्। भिडिओमा गगन थापाले एमसीसीले नेपालमा हस्तक्षेप नगर्ने तर्कसहित प्रतिनिधि सभामा दिएको भाषण समेत राखिएको छ।
उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “हिजो डाक्टर भिम रावलले एमसिसी को बिरोध गर्दा गगन थापाले बोलेको कुरा भुल्नु भयो कि गगन ज्यु? आज अमेरिका सेनाले टुडिखेलमा परेड खेल्दै गर्दा यसको जवाफ छ?”
अमेरिकी सेनाले परेड खेलेको भिडिओसँगै राखेको गगन थापाको भिडिओमा थापाले भाषणमा भनेका छन्, “माननीय ज्युले चुनौती दिनुभएको छ। म स्वीकार गर्छु। सडकमा बहस गर्ने कि संसदमा, अछाममा गर्ने कि काठमाडौँमा, स्वीकार्य छ। त्यति मात्र होइन माननीय ज्यु, सम्माननीय सभामुख महोदय, म आग्रह गर्न चाहन्छु। यसलाई राष्ट्रघाती भनिएको छ। म राष्ट्रघाती भनिएको छ, स्वाधीनता तलमाथि यो सम्झौताको कारणले गर्दा हुन्छ भनिएको छ। कहीँ कतै तलमाथि भयो भने, नेपालले जे ब्यहोर्छ, म आज यसमा हस्ताक्षर गर्ने सांसद भएर 'सरी' भनेर मात्र पाउँदिन। यदि त्यस्तो भयो भने, म काठमाडौँको सांसद हुँ। थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मुडियोस्, सम्पत्ति विवरण बुझाएको छु सम्माननीय सभामुख महोदय, सम्पत्ति खोसियोस्। माननीय ज्युहरू तयार हो? यदि यही पाँच वर्ष भित्रमा आज जनतालाई भनेको कुरा- सेना आउँछ, स्वाधीनता लुटिन्छ, सम्पत्ति अरूले लिएर जान्छ, अमेरिकी कानुन लागु हुन्छ भनेको कुरा पाँच वर्षमा सम्झौता सकिँदै गर्दाखेरी भएन भने त्यो कुरा गर्नलाई तयार हो? तयार हो भनेदेखि भने यो पनि चुनौती हो। सम्माननीय सभामुख महोदय, राष्ट्रवाद र देशभक्तिको फरक भनेको- नक्कली राष्ट्रवादी, आफ्नो नारामा मान्छेलाई मर्नका निम्ति उचाल्छ, मार्न तयार हुन्छ । म देशभक्त हो, मर्न तयार हुन्छु। नक्कली राष्ट्रवादी र देशभक्तिको फरक नेपाली जनताले थाहा पाउँछन्, थाहा पाउनुपर्छ। संसदबाट पनि थाहा पाउनुपर्छ, सडकबाट पनि थाहा पाउनुपर्छ ।”
उक्त भिडिओमा टेकपानालाई मेन्सन गर्दै फेसबुक प्रयोगकर्ता ‘श्याम सिह ठगुन्ना’ले तथ्यजाँचका लागि अनुरोध गरेका छन्। हेर्नुहोस्, ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट।

आइतबार साझ ६:३४ मा ‘Arunima Sah’ नामक फेसबुक अकाउन्टबाट सेनाले परेड गरिरहेको भिडिओ राखिएको छ। भिडिओमा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताको तस्बिर राख्दै लेखिएको छ, “हामीले वास्तविक दु:ख पाउने दिन अब आउँदैछ। नेपाललाई युक्रेन बन्न नदिन, बेलैमा बालेनलाई चिनौँ।”
भिडिओको पृष्ठभुमिमा अधिवक्ता दिनेश त्रिपाठीले बोल्दै गरेको भिडिओ समेत राखिएको छ। जहाँ अधिवक्ता त्रिपाठीले भनेका छन्, “हामीले वास्तविक दुःख पाउने दिन चाहिँ अब आउँदैछ क्या। देश चलाउने मान्छे परिपक्क हुनुपर्छ, आवेगी हुनुहुँदैन। देश चलाउने मान्छे जिम्मेवार हुनुपर्छ, दूरदर्शी हुनुपर्छ। सस्तो लोकप्रियताको लागि काम गर्ने, निजी महत्वाकांक्षा पूरा गर्न अग्रसर भएका, विभिन्न आकार प्रकारका प्राणीहरुलाई यी देश बनाउने मान्छे ठानेर भ्रममा बस्ने हो भनेदेखि, हामीले वास्तविक दुःख पाउने दिन चाहिँ अब आउँदैछ।”
उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “अपरिपक्व, सन्की र आफ्नो हठका लागि जे पनि गर्ने बालेन जस्तालाई भगवान बनाउदा देश युक्रेन यात्रामा जाने भयो। जनताले कहिले बुझ्ने हुन्।” ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट।

फेसबुक प्रयोगकर्ता ‘अरुण नेपाली लुइँटेल’ ले पनि अमेरिकी सेनाले परेड गरेको भिडिओ शेयर गरेको पाइयो। उनले नेपालमा राजा चाहिएको भावसहित भिडिओको क्याप्सनमा लेखेका छन्, “ट्यापेको प्रधानमन्त्री र बाख्रेको राष्ट्रपतिको अगाडी अमेरिकी सेनाको नाच.... आहा हाम्रो देश अमेरिकी सेनालाई नचाउने हैसियतमा पुगिसकेछ.... अझै राजा चाहिदैन भन चोर नेपाली हो।” पृष्ठभूमिमा ‘Otv onlinetvnepal’ को वाटरमार्क देखिएको छ।
हेर्नुहोस् ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट।

आइतबार (१५ फेब्रुअरी) दिउँसो १:४० मा ‘Onlinetvnepal’ नामक फेसबुक पेजले अमेरिकी सेनाले प्रदर्शन गरेको भिडिओ शेयर गरेको पाइयो। “अमेरिकन सेनाको टुडिखेलमा रमिता: प्रधानमन्त्री र राष्ट्रपति हेरेक्को हेरयै” क्यापसनसहित सार्वजनिक उक्त भिडिओलाई यो सामग्री तयार पार्दा सम्म सात लाख ७१ हजारभन्दा बढीले हेरेका छन्। भिडिओमा १० हजार ८०० बढी रियाक्सन छ भने २५ सयभन्दा धेरै पटक शेयर गरिएको छ। उक्त भिडिओमा पुरा सन्दर्भ खुलाइएको छैन।
उक्त भिडिओमा कमेन्ट र शेयर गर्ने अधिकांशले नेपालमा अमेरिकी सेनाको हस्तक्षेप सुरु भएको आशय पोखेका छन्। सोही पोस्टमा कमेन्ट गर्ने प्रभात डाँगीले लेखेका छन्, “अतिक्रमणको सुरुवात यस्तै यस्तै गतिबिधि बाट गरिन्छ अब होसियार जनता हुनुपर्छ नेताहरू त बिकीसके।” केहीले भने विदेशी सेनाले नेपाली भूमिमा परेड खेल्नु नै कब्जा गर्न दाउ भएको तर्क गरेका छन्। हेर्नुहोस् ओरिजिनल भिडिओ, स्क्रिन रेकर्ड र स्क्रिनशट।

“घण्टी सरकारको उपलब्धी” क्याप्सनसहित फेसबुक प्रयोगकर्ता ‘Bikash Jung Basnet’ ले ‘Smart Media’ ले सार्वजनिक गरेको अमेरिकी सेनाले परेड गरेको भिडिओ शेयर गरेको पाइयो। आइतबार दिउँसो ४:४० मा शेयर सार्वजनिक गरेको उक्त भिडिओलाई ‘Smart Media’ ले “सैनिक दिवसमा टुँडिखेलमा देखिए अमेरिकी सेना - राष्ट्रपतिकै अगाडि ब्याण्ड सहित देखाए कला” शीर्षकमा उक्त भिडिओ सार्वजनिक गरेको हो । हेर्नुहोस् पोस्ट र स्क्रिनशट।

अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले यस विषयमा तथ्यजाँच गर्नुअघि नेपाली सेनाका सेवा निवृत्त मेजर जेनरल बिनोज बस्न्यातलाई सम्पर्क गर्यो। कुराकानीको क्रममा नेपाली सेना दिवसको अवसरमा विभिन्न देशका सेनाको ब्यान्डले प्रदर्शन गर्नु सामान्य रहेको बताए। उनले भने, “हाम्रो आन्तरिक राजनीतिक अवस्थाका कारण विभिन्न पक्षले अमेरिकी सेनाको ब्यान्डले गरेको प्रदर्शनलाई विदेशी हस्तक्षेप भन्दै आफ्नो धारणा राखेका छन्। नेपाली सेना दिवसको अवसरमा विभिन्न देशका सेनाको ब्यान्डले प्रदर्शन गर्नु सामान्य विषय हो। विदेशी नीति कुटनीति, सैनिक सम्बन्धका हिसाबले हेर्ने हो भने कुनै अनौठो रूपमा लिनुपर्ने आवश्यकता छैन। अहिले अमेरिकी सेनाले प्रदर्शन गर्यो, यसअघि अमेरिकी सेना, बेलायली, भारतीय सेनाले प्रदर्शन गरेका थिए।”
त्यसपछि हामीले नेपालस्थिति भारतीय दूतावासको सामाजिक सञ्जालमा २८ फेब्रुअरी २०२५ मा राखिएको एउटा पोस्ट फेला पार्यौँ। उक्त पोस्टमा लेखिएको लेखिएको अङ्ग्रेजी क्याप्सनको नेपाली भावार्थ यस्तो हुन्छ, “मेजर जसकीरत सिंह माकोल र मेजर संजयराज भुसालको नेतृत्वमा भारतीय सेनाको ३६ सदस्यीय ब्याण्ड टोलीले सन् २०२५ फेब्रुअरी १९ देखि २८ सम्म आयोजित २६२ औँ नेपाली सेना दिवस समारोहमा सहभागिता जनाएको छ। यस प्रतिष्ठित अवसरमा भएको सहभागिताले दुवै देश र सेनाबीच रहेको गहिरो र अतुलनीय मित्रताको सम्बन्धलाई प्रतिविम्बित गर्दछ। सेना दिवसको मुख्य समारोहका अतिरिक्त, भारतीय सेनाको ब्याण्डले पाटन दरबार स्क्वायर र काठमाडौं दरबार स्क्वायरमा समेत आफ्नो उत्कृष्ट साङ्गीतिक प्रस्तुति मार्फत दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो। भारतीय सेनाको ब्याण्ड टोलीको यो सहभागिता भारत र नेपालका सेनाबीचको अटुट सम्बन्धको एक बलियो प्रमाणको रूपमा रहनेछ र यसले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुर्याउनेछ ” हेर्नुहोस् ओरिजिनल पोस्ट।
२६ फेब्रुअरी २०२५ मा ‘Ahileko News’ नामक युट्युब च्यानलमा सेना दिवस २०८१ को भिडिओ राखिएको छ। उक्त भिडिओको १ घण्टा १३ मिनेट १२ सेकेन्डमा कार्यक्रम सञ्चालकले नेपाली सैनिक ब्यान्ड, मित्र राष्ट्रहरू भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिका सैनिक ब्यान्डहरूले आआफ्नो प्रस्तुति दिने उद्घोष गर्छन्। हेर्नुहोस् भिडिओ। नेपाली मूलधारका सञ्चार माध्यमले पनि २०८१ को सैनिक दिवसमा परेडका लागि छिमेकी राष्ट्र भारत र मित्र राष्ट्र बेलायत र अमेरिकाका सेना सहभागी भएको समाचार राखेका छन्।
त्यस्तै २०८० को सेना दिवसमा पनि बेलायती सेना, भारतीय सेना, अमेरिकी सैनिक ब्यान्डले प्रस्तुति दिएको पाइयो। नेपाल टेलिभिजनको युट्युब च्यानलबाट ८ मार्च २०२४ मा प्रसारण भएको ‘सेना दिवस विशेष समारोह-२०८०’ शीर्षकको भिडिओको १ः१७ः५० को टाइममा कार्यक्रम सञ्चालकले ब्यान्ड प्रस्तुतिका लागि अमेरिकी, बेलायती र भारतीय सेना आउने उद्घोष गर्छन्। र, सेनाहरू आएर प्रस्तुति दिन्छन्। हेर्नुहोस् भिडिओ ।
त्यसैगरी २०७९ को सेना दिवसमा ब्यान्ड प्रदर्शनका लागि भारत र बेलायतका सेना सहभागी थिए। हेर्नुहोस् नेपाल टेलिभिजनबाट प्रसारण भएको भिडिओ। भिडिओको १ घण्टा १ मिनेटमा कार्यक्रम सञ्चालकले ब्यान्ड प्रस्तुतिका लागि आउने भारतीय र बेलायती सेनाको नाम उद्घोष गर्छन् । हेर्नुहोस् भिडिओ ।
नेपाली सेनाको वेबसाइटमा आइतबार (१५ फेब्रुअरी २०२६) प्रकाशित भएको प्रेस विज्ञप्तिमा मित्रराष्ट्र भारत, अमेरिका र बेलायतका सैनिक ब्यान्ड सहभागी भइ साङ्गीतिक प्रस्तुति दिएको उल्लेख छ। विज्ञप्तिमा लेखिएको छ, “समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्री तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो। कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक प्रस्तुति गरिएको कार्यक्रममा नेपाली सेना सहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीबाट समेत साङ्गीतिक प्रस्तुति गरिएको थियो । सो अवसरमा प्रधानसेनापतिले विभिन्न क्षेत्रबाट सुरक्षा तथा सामरिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने गैर सैनिक महानुभावहरूलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गर्नु भयो।” हेर्नुहोस् प्रेस विज्ञप्ति ।
यी विभिन्न तथ्य विश्लेषण गर्दा के पुष्टि हुन्छ भने सेना दिवसको अवसरमा छिमेकी राष्ट्र तथा मित्र राष्ट्रबाट सेना सहभागी हुने प्रचलन नौलो होइन। यसअघि पनि अमेरिका, बेलायत र भारतका सैनिक ब्यान्ड प्रदर्शनका लागि कैयौँ पटक आइसकेका छन्। वर्तमान राजनीतिक परिस्थितिलाई लक्षित गर्दै नेपाली भूमिमा अमेरिकी सेनाले परेड खेल्यो भन्दै जनमानसमा आतङ्क सिर्जना गर्न भ्रम फैलाइएको पुष्टि हुन्छ।
दाबी
सेना दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको र यसले ‘नेपाली भूमिमा विदेशी सेनाको हस्तक्षेप सुरु भएको’, ‘नेपालको स्वाधीनता लुटिएको’ तथा ‘नेपाल युक्रेन बन्ने बाटोमा लागेको’ भन्ने दाबी।
दाबीकर्ता
‘Naresh Ayer’, ‘Arunima Sah’, ‘अरुण नेपाली लुइँटेल’, ‘Onlinetvnepal’, ‘Bikash Jung Basnet’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता तथा फेसबुक पेज।
तथ्य
सेना दिवसको अवसरमा मित्र राष्ट्रका सैनिक ब्यान्ड सहभागी भई साङ्गीतिक प्रस्तुति दिने प्रचलन नौलो होइन। यो कूटनीतिक र सैनिक सम्बन्ध सुदृढ गर्ने एउटा नियमित प्रक्रिया हो। सन् २०२४ (२०८०) र २०२३ (२०७९) का सेना दिवसमा पनि अमेरिका, बेलायत र भारतका सैनिक ब्यान्डहरूले टुँडिखेलमा आफ्नो प्रस्तुति दिइसकेका छन्। अवकाशप्राप्त मेजर जनरल बिनोज बस्न्यातका अनुसार विदेशी सेनाको ब्यान्डले प्रदर्शन गर्नु सामान्य विषय हो र यसलाई विदेशी हस्तक्षेप भन्नु गलत हो।
नेपाली सेनाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार महाशिवरात्री तथा सेना दिवसको अवसरमा भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीहरूले साङ्गीतिक प्रस्तुति मात्र दिएका हुन्। भारतीय दूतावासको सामाजिक सञ्जालमा पनि भारतीय सेनाको ब्यान्ड टोलीले विभिन्न वर्षमा नेपालका विभिन्न स्थानमा प्रस्तुति दिएको आधिकारिक जानकारी उपलब्ध छ।
निष्कर्ष
सेना दिवसमा मित्र राष्ट्रका सैनिक ब्यान्डले दिएको साङ्गीतिक प्रस्तुतिलाई ‘विदेशी सेनाको हस्तक्षेप’ वा ‘देश कब्जा गर्न आएको’ भनी गरिएको दाबी भ्रामक छन्। यो नियमित सैनिक कूटनीतिको हिस्सा मात्र हो।
(टेकपानाबाट)।






















