सर्लाही, ४ फागुन। सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बेलुका अज्ञात व्यक्तिले गोली प्रहार गरी इन्जिनियरको हत्या गरेको छ। जिल्ला पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवलाई आइतबार बेलुका ८ बजेतिर मलङ्गवा नगरपालिका १० स्थित डेरामा गोली प्रहार गरी हत्या गरेका हुन्। मृतक इन्जिनियर यादवको घरसिराहाको सुखीपुर नगरपालिका ६ वैशाखा भने हो।
प्रहरीका अनुसार इन्जिनियर यादव आइतबार दिउँसो मात्र बाबुको काजकिरिया सकेर मलङ्गवा फर्किएको पाइएको छ। ‘उनको बुवा बितेपछि काम सकेर आइतबार दिउँसो २÷३ बजेतिर मात्र मलङ्गवा आएको भन्ने बुझिएको छ,’ सर्लाही प्रहरीका प्रमुख योगेन्द्रकुमार खड्काले भने, ‘घरबाट फर्किए लगत्तै घटना भएको देखिन्छ। यसबारेमा थप बुझ्ने काम हुँदै छ।’
स्थानीयका अनुसार मोटरसाइकल चढेर आएका दुई जना मानिसले इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेका थिए। यादवको छातीमा गोली प्रहार भएको छ।
घटनास्थलबाट गोलीको एक थान खोका बराबद भएको एसपी खड्काले जानकारी दिए। सानो हतियार (पेस्तोल) बाट गोली प्रहार भएको जस्तो देखिने एसपी खड्काले बताए।
गोली प्रहारपछि घरको बरण्डामा ढलेका इन्जिनियर यादवलाई एसपी खड्कासहितको प्रहरी टोली पुगेर प्रादेशिक अस्पताल मलङ्गवा लगेको थियो।
इन्जिनियर यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन्। उनीमाथि कार्यालयकै कुनै विषय वा पारिवारिक के कारणले गोली प्रहार हो भन्ने अुलि नसेको एसपी खड्काले बताए। उनले भने, ‘अब आज उनको श्रीमती र परिवारसँग कुराकानी गरेपछि थप विषय खुल्दै जाला।’
इन्जिनियर यादव श्रीमती र दुई वर्षकी छोरीसँगै मलङ्गवामा कार्यालय नजिकै डेरा गरेर बस्दै आएका थिए। आइतबार बेलुका इन्जिनियर यादवमाथि गोली प्रहार हुनासाथ मलङ्गवा क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी रातभरजसो अभियुक्तको खोजी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए।
मलङ्गवाबाट नेपाल–भारत सीमा नजिकै पर्ने भएकाले गोली प्रहारमा संलग्न व्यक्ति भारततर्फ फरार भएको हुन सक्ने आशङ्का गरिएको छ। प्रहरीले अब आज घटनास्थल वरपरको सिसिटिभी फुटेज सङ्कलन गरेर थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।






















