रौतहट,३ फागुन। रौतहटमा मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ। गौर–गङ्गापिपरा सडक अन्तर्गत दुर्गाभगवती गाउँपालिका ४ झाझपुल नजिकै आईतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।
दुर्घटनामा परी यमुनामाई गाउँपालिका ४ सरुअठाका मोटरसाइकल चालक २४ वर्षीय जितेन्द्र साह र मोटरसाइकलको पछाडि बसेकी २२ वर्षीया पुनमदेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारीे डीएपी विष्णुप्रदीप बस्यालले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई अचेत अवस्थामा गौरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाएकोमा अस्पतालले मृत घोषणा गरेको थियो। बिआर ३० यु १३७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ।






















