सिरहा, २० माघ। प्रादेशिक अस्पताल सिरहाका दुई पूर्व प्रमुखसहित १० जनाविरुद्ध अख्तियार दुरुपयो अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगले अस्पतालको दैनिक राजस्व रकम हिनामिना गरेको भन्दै पूर्व प्रमुखहरु मेसु डाक्टर नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। 

अख्तियारले प्रमुख द्वयसहित प्रशासन प्रमुख अशोक सिंह, लेखा प्रमुख अशोक यादव, अहेव श्यामकुमार मण्डल, सहायक कम्प्युटर अपरेटरहरू सरस्वतीकुमारी यादव, पूजाकुमारी यादव, रोशन यादव, अजय मण्डल र अस्पतालका तात्कालिन लेखा प्रमुख रत्नेश्वर मण्डलकी श्रीमती मुस्कान कुमारी मण्डललाई प्रतिवादी बनाएर आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्ती उल्लेख गरेको छ।

बिरामीबाट संकलन भएको राजश्व मध्ये ३८ लाख ७७ हजार ७ सय २४ रूपैयाँ ८३ पैसा अस्पतालको सरकारी खातामा जम्मा नगरी मिलेमतोमा हिनामिना गरेको अख्तियारले दाबी गरेको छ। आर्थिक वर्ष २०८०÷०८१ मा संकलन गरेको तीन करोड ६७ लाख ६६ हजा ९७४ रुपैयाँ ८३ पैसा जम्मा हुनुपर्ने देखिएकोमा सोही अस्पतालको अभिलेख विवरण अनुसार तीन करोड ४८ लाख ८९ हजार २५० रुपैयाँमात्र दाखिला भएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। उक्त रकममध्ये हालसम्म ३८ लाख ७७ हजार ७ सय २४ रूपैयाँ ८३ पैसा दाखिला नगरी हानी नोक्सानी तथा दुरुपयोग गरेको छ।  

उक्त विषय महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा पनि कैफियत दखिएको भन्ने खुलाएको अख्तियारको भनाई रहेको छ। 

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, आर्थिक वर्ष २०८०÷०८१ मा अस्पतालका विभिन्न ८ वटा काउन्टरबाट कुल ३ करोड ८७ लाख ६६ हजार ९ सय ७४ रूपैयाँ ८३ पैसा संकलन भएकोमा अस्पतालको अभिलेखमा ३ करोड ४८ लाख ८९ हजार २५० रूपैयाँ मात्र दाखिला भएको पाइएको छ।

अख्तियारले बिगो असुल उपरसहित उनीहरूलाई बिगो बराबरको जरिवाना र कैद गर्नसमेत माँग गरेर आरोप पत्र दायर गरेको छ।