राजविराज, १५ माघ। शिवशक्ति युवा फुटबल क्लब सिन्धुली सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ। प्रतियोगिता अन्तर्गत आज बिहीवार सम्पन्न फाइनलमा शम्भुनाथ नगरपालिका टीमलाई ट्राईब्रेकरमा २–४ गोल अन्तरले पराजित गर्दै सिन्धुलीले उपाधी हात पारेको हो।

पहिलो हाफको १६ ओेैं मिनेटमा शम्भुनाथका प्रविन राईले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको ३० ओेैं मिनेटमा शम्भुनाथका खेलाडीले डिबक्स भित्र ह्यान्ड गरेपछि पाएको फ्रि किकलाई सदुपयोग गर्दै सिन्धुलीका नवीन धामीले शम्भुनाथको गोलपोष्टमा जाली चुमाएर पहिलो हाफ सम्म १–१ को टीमलाई बराबरीमा पुर्याएका थिए। त्यसपछि दोश्रो हाफमा दुबै टीमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियो।
उपाधीसँगै सिन्धुलीले नगद ५७ हजार तथा ट्रफि र उपविजेता शम्भुनाथले ४७ हजार रुपैयाँ तथा कपमा चित बुझाएको छ। प्रतियोगिता पश्चात् खेलकुद समितिका अध्यक्ष अमितकुमार चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरी, रामराजाप्रसाद स्वास्थ प्रतिष्ठानका अध्यक्ष डा। पशुपति चौधरी, सन्यासी युवा क्लबका अध्यक्ष धनीलाल चौधरी लगायतले पुरस्कार तथा वितरण गरेका थिए।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगितामा सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजक समितिका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।
सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।






















