सिरहा, १३ माघ। अस्पतालबाटै शव हराएको घटनामा प्रशासनले वेवास्ता गरेको भन्दै आक्रोशित आफन्त र स्थानीयले आज पुनः पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा प्रदर्शन गरेको छ। गोलबजार नगरपालिका ३ जमदहका रमेश वानियाँकी छेरी १६ वर्षीया निशा बानियाँको शव लहानस्थित रामकुमार सारडा उपमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पतालबाटै हराएको घटनामा प्रहरी प्रशासनले वेवास्ता गरेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन्। 

उनीहरुले अस्पताल प्रमुख, इलाका प्रहरी कार्यालय लहाका प्रमुखसहितलाई कार्वाहीको माँग गरेको छ। प्रहरी प्रशासन र अस्पतालका कारण शव हराएको आफन्तको आरोप लगाउँदै आएको छ। 

गत माघ १० गते आफ्नै घरमा मृत फेला परेकी किशोरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक घटना मुचुल्कासहितको प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि लहान अस्पताल पठाएको थियो। उनका बुबा आमा रोजगारीको क्रममा भारतमा रहेकाले सोमबार आएर शव लिन अस्पताल पुग्दा फेला परेन। 

शव फेला नपरेको जानकारी लगतै स्थानीयले शव तत्काल उपलब्ध गराउनु पर्ने माँगसहित सोमबार गोलबजारमा सडक जाम गरेर प्रर्शन गरेको थियो। 

उनीहरुले मङ्गलबार विहान १० बजेभित्र प्रहरी प्रशासनले चित्त बुझ्दो जवाफ नदिए पुनः सडक जामगर्ने चेतावनीसहित सडक खुलेको थियो। 

प्रहरी प्रशासनले वेवास्ता गरेपछि आज विहान ११ बजेबाट जडक जाम गरेर प्रदर्शन गरेको छ। 

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले घटनाका विषयमा आफूले जानकारी प्राप्त भएको र यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘आफ्नो ३५ वर्षिय जागिरे जीवनमा यस्तो घटना सुनेको थिइँन, यो अस्पताल प्रशासन र त्यहाँ हेर्ने प्रहरी कर्मचारीको लापर्वाही देखिन्छ। उनीहरुलाई सम्वन्धित निकायले आवश्यक कार्वाही गर्छ।’

गोलबजार नगरपालिका ३ का वडाध्यक्ष धनप्रसाद लामाले आफूहरु निशाले न्याय पाउनेमा विश्वस्त रहेको बताए। तर उनले प्रहरी प्रशासनको लापर्वाहीभने उदेकलाग्दो रहेको बताए। उनले भने, ‘हामी आशा वादी छौं, तर प्रहरी प्रशासनले घटनाई गम्भिरता पूर्वक नलिएको देखियो। यसलाई तत्काल समाधान गरिनु पर्छ।