सिरहा, १२ माघ। पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालय सिरहाले यही माघ २५ देखि आगामी फागुन २ गतेसम्म आठ स्थानीय तहमा पहिलो चरण र दोस्रो चरणमा आगामी फागुन ४ देखि १० गतेसम्म बाँकी नौवटा पालिकामा अभियान सञ्चालन गरिन लागेको हो।
अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष पूरा भई ११ वर्ष ननाघेका बालिका तथा गत वर्षको खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रालाई लक्षित गरिएको स्वास्थ्य कार्यालय सिरहाकी खोप निरीक्षक सुनिता कँडेलका जानकारी दिए।
‘गत वर्ष जिल्लाभर करिब नौ प्रतिशत छात्रामा एचपिभी खोप छुटेका थिए। यस पटक ती सबैलाई समेट्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो,’ खोप निरीक्षक कँडेलले भनिन्। उनका अनुसार विद्यालय छाडेका ११ देखि १४ वर्ष उमेर समूहका बालिका पनि यस अभियानमा समावेश गरिनेछन्।





















