सिरहा, ११ माघ । सिरहाको कर्जन्हा नगरपालिका १०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउने विषयमा भएको विवादमा एक जनाको मृत्यु भएको छ। सरकारी  जग्गामा बन्दैगरेको अख्तर शेखको घर भत्काउने विषयमा भएको विवादका क्रममा कुटपीटहुँदाक स्थानीय करिव ५१ वर्षिय अजमुदिन शेखको मृत्यु भएको हो। 

अदालतको आदेश अवेहलना गर्दै घर निर्माण गरिरहेको भन्दै अदालतको आदेश कार्यान्वयन गराउन पुगेका प्रहरीकै अगाडी स्थानीयको कुटपीटबाट शेखको मृत्यु भएको वडा अध्यक्ष मोहम्मद सागिर मियाँले जानकारी दिए। उनले भने, ‘यहाँ वर्षौं अगाडीदेखि घर थियो, त्यहि भत्काउन पुगेका पुगेका बेला स्थानीयमा विवाद हुँदा अजमुदिनमाथि कुट पीट भएछ। कुटपीटबाट वेहोस उनलाई मिर्चैया अस्पताल पुर्याउँदा मृत घोषणा गरियो।’

यहाँ ऐलानी सरकारी जमिनमा १५० भन्दा बढी घरधुरीको बस्ती छ। 

तर, सुकुम्बासीहरू बसोबास गरिरहेको जग्गाको पछाडिको जमिनमा भएका केही स्थानीय भने जग्गा खाली गर्न र पक्की घर नबनाउन दबाब दिँदै आएका थिए। नमानेपछि स्थानीय भरोसी गाईँ, रामदयाल साहलगायतले अदालतबाट निषेधाज्ञा ल्याएका थिए।

अदालतले सार्वजनिक जग्गामा संरचना बन्न नदिनू भनेर आदेश दिएपनि अदालतको आदेश अस्वीकार गरेपछि प्रहरी आइतबार दिउँसो अदालतको आदेश कार्यान्वयको लागि पुगेको जिल्ला प्रहरी कार्यालय सिरका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए। 

‘सार्वजनिक स्थलमा एकजना मान्छेले भौतिक संरचना बनाउँदै गरेको भनेर पटकपटक गुनासो आयो। सरकारी जग्गामा भौतिक संरचना निर्माण गरेपछि आफ्नो घरतिर जाने बाटो छेकिन्छ भन्ने कुरा स्थानीयले अदालतमा मुद्दा हालेका थिए, ‘डीएसपी पालले भने, ‘अदालतले सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्न नदिनू भनेर आदेश दिएको थियो। आदेश दिएर पनि ती व्यक्तिले नमानेपछि प्रहरीको नाममा अदालतले निर्णय कार्यान्वयन गराउनू भनेर पत्र काटेको थियो। प्रहरी गएर आज सम्झाइबुझाइ गरेर फर्कंदा त्यो मान्छे लडेको अवस्था हो।’

प्रहरी पुगेर सम्झाई बुझाई गरेको भनेपनि जेसीवीसहित पुगेको स्थानीयको भनाई छ। 

मृत्यु घटना पछि स्थानीयले केही बेर पूर्व पश्चिम राजमार्ग अन्तर्गत प्रयागपुरमा चक्का जाम गरेका थिए। 

कुटपीटमा संलग्नलाई तत्काल पक्राउगरी कार्वाही गर्ने, घर भत्काउन प्रयो भएको जेसीवी नियन्त्रणमा लिने सहमति पछि बाटो खुलेको वडा अध्यक्ष मियाले बताए। 

शव पोष्ट मार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाँदै गरेको प्रहरीले जनाएको छ। 

घर भत्काउने वा बनाउन रोक्न अदालतको आदेशको विषयमा नगरपालिका र वडालाई औपचारीक जानकारी नरहेको वडा अध्यक्ष मियाँले बताए।