काठमाडौं, १० माघ। निर्वाचन आयोगले चुनावको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ। आयोगले आज सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै आमसभा, जुलुस र प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो।

यसअघि आजै जेनजी फ्रन्टले विज्ञप्ति निकालेर फागुन २१ गते हुने चुनावमा बालबालिकाहरूको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको थियो। जेनजी फ्रन्टले फागुन २१ गते हुने चुनावका लागि बालबालिकाहरूको प्रयोग भएको भन्दै त्यसप्रति फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको बताएको हो।

निर्वाचन आचारसंहिताले राजनीतिक गतिविधि र चुनावी प्रचार सामग्रीमा बालबालिकाको अनुहार, नाम वा सहभागिताको प्रयोगलाई स्पष्ट रूपमा निषेध गरेको छ।

नेपालमा विगतका चुनावमा दलहरूले बालबालिकालाई र्‍याली, जुलुसमा नाचगान गराउने, नारा लगाउने र पोस्टर बोक्ने काममा प्रयोग गर्दै आएका छन्। अहिले सामाजिक सञ्जालमार्फत बालबालिकालाई उम्मेदवारको पक्षमा चर्चा गर्न लगाएका थुप्रै उदाहरण भेटिन्छन्।