सिरहा, ८ माघ। फागुन २१ गते हुन गईरहेको प्रतिनिधीसभा निर्वाचनको लागि मंगलबार मनोनय दर्ता भएसँगै सिरहा ४ चुनावी चर्चामा छ। पटक–पटक सांसद–मन्त्री भईसकेकाहरुको भिडन्तले यो क्षेत्रको चुनावी चर्चामा आएको हो। 

तीन पटक सांसद र दुई पटक मन्त्रि बनिसकेका जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले यहि क्षेत्रबाट पुनः उम्मेदवारी दर्ता गराएका छन्। उनी २०६४ सालबाट निरन्तर चुनावी मैदानमा छन्। यस विच सम्पन्न ४ निर्वाचनमध्ये उनी ३ पटक निर्वाचित भएका छन्। 

यादव पहिलो संविधानसभा २०६४ मा मधेसी जनअधिकार फोरमबाट तत्कालीन सिरहा क्षेत्र नम्वर ६ बाट निर्वाचित भएका थिए। दोस्रो संविधानसभा २०७० को निर्वाचनमा उनले सोही क्षेत्रबाट मधेसी जनअधिकार फोरम गणतान्त्रिकका उम्मेदवार भए।  तर उनी पराजित भए। 

२०७४ को आम निर्वाचनमा सिरहा क्षेत्र नम्वर ४ बाटै यादव निर्वाचित भए। २०७९ को निर्वाचनमा उनले सिरहा २ रोजे र निर्वाचित पनि भए। अहिले यादव पुनः ४ मा फर्केका छन्। 

चुनावै पिच्छे पार्टी र निर्वाचनक्षेत्र परीवर्तन गर्दै आएका उनी यो पटक पनि क्षेत्र परीवर्तन गरेर आएका छन्। उनले पार्टीको निर्देशन र अनुसार आफूले क्षेत्र परीवर्तन गरेको भनेपनि चुनाव जितेपछि क्षेत्रमा नफर्कने प्रवृतिका कारण क्षेत्र फेर्दै चुनाव लड्ने गरेको मतदाताहरुको आरोप छ। 

तत्कालिन मधेशी जनअधिकार फोरमबाट पहिलो संविधानभामा निर्वाचित उनलाई मन्त्री बन्नकै लागि पार्टी विभाजन गरेको आरोप समेत छ। यहि बेला उनी गणतान्त्रिात्रिक फोरमबाट सूचना तथा सञ्चार मन्त्री भएका थिए। पछिल्लो पटक २०७८ मा १२ दिने मन्त्री भएका थिए। 

२०७४ मा सिरहा ४ बाटै २१ हजार १४४ मतसहित विजयी भएका यादवका निकटतम प्रतिस्पर्धी  तत्कालिन नेकपा माओवादी केन्द्रका उम्मेवादर अजयशंकर नायकले १७ हजार ५७५ मत प्राप्त गरेका थिए। 

त्यसैगरी, २०७९ को आम निर्वाच्नमा नेकपा एमालेसंगको गठवन्धनमा सिरहा २ बाट निर्वाचित हुँदा यादवले २४ हजार १७८ मत प्राप्त गरेका थिए। निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नेतृ चित्रलेखा यादवले २३ हजार २८ मत प्राप्त गरेका थिए। 

तत्कालिन नेकपा माओवादी केन्द्रबाट २०७० को संविधानसभामा सामानुपातीकबाट प्रवेश गरेका अजयशंकर नायक पुष्पकमल दहाल ‘प्रचण्ड नेतृत्वको सरकारमा कानुन मन्त्री  भएका थिए। त्यस पछि २०७४ को  निर्वाचनमा सिरहा क्षेत्र नम्वर ४ बाट उम्मेदवारी दिएका थिए। त्यस बेला उनी १७ हजार ५७५ मतसहित दोस्रो स्थानमा थिए। त्यस बेला यहाँबाट राजकिशोर यादव निर्वाचित भएका थिए। अहिले उनी पुनः चुनावी मैदानमा छन्। उनी कानुनमन्त्री बन्दा राम्रो काम गरेको चर्चा छ। 

सिरहा क्षेत्र नम्वर ४ कै अर्का उम्मेदवार व्यसायी डाक्टर विरेन्द्र महतो २०६४ मै तात्कालिन मधेशी जनअधिकार फोरमको सामानुपातिक कोटाबाट संविधानसभा प्रवेश गरेका थिए। त्यस पछि उनी सिरहा क्षेत्र नम्वर ४ बाट २०७९ मा जनता समाजवादी पार्टी (जसपा)नेपालबाट निर्वाचित भए। त्यसबेला उनी २४ हजार १०२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार बीरेन्द्र प्रसाद साह १६ हजार २९४ मत प्राप्त गरेका थिए। 

मन्त्री बन्नकै लागि पार्टी विभाजनका क्रममा अशोक राई नेतृत्वको जसपामा गएका थिए। उनी त्यसबेला वन मन्त्री भए। अहिले यहाँ सो पार्टीको प्रभाव कमजोर रहेकाले उनी जनमत पार्टी प्रवेश गरेर चुनावी मैदानमा उत्रेका छन्। संयोग उनी जनमत प्रवेश गर्दा अघिल्लो निर्वाचनका प्रतिस्पर्धी वीरेन्द्र साह पनि आम जनता पार्टीबाट चुनावी मैदानमा छन्।

मनोनय गर्ने दिनसम्म नेपाली कम्यूनिष्ट पार्टीका नेता रहेका धर्मनाथ साह पार्टीले टिकट नदिएपछि नेकपा एमालेको टिकटबाट चुनावी मैदानमा उत्रेका छन्। उनी एमालेको टिकटबाट समय मनोनय दर्ताको समय गुज्रिने बेलामा निर्वाचन कार्यालय पुगेका थिए। 

लामो बाम राजनीतिक पृष्ठभूमिभएका साह नेकपा एमालेबाट २०५६ को आम निर्वाचनमा सिरहाका तत्कालिन क्षेत्र नम्वर ५ बाट निर्वाचित भएका थिए। सोही बेला उनी सामान्य प्रशासन मन्त्री भएका थिए। 

त्यसपछि उनी निरन्तर चुनावी मैदानमा रहेपनि निर्वाचित भने भएका छैनन्। गत  २०७९ को निर्वाचनमा सिरहा ४ बाटै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त उम्मेदवार बनेका साह तेस्रो स्थानमा थिए। त्यसबेला उनले १४ हजार ६५३ मत प्राप्त गरेका थिए। निर्वाचित भएका डाक्टर विरेन्द्र महतोले भने २४ हजार १०२ मत थियो। 

पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा बहुजन शक्ति पार्टीका अध्यक्ष विसेन्द्र पासवानले पनि यहि क्षेत्रबाट उम्मेदवारी दिएका छन्। उनले पहिलो पटक निर्वाचनमा भाग लिएका हुन्। यस अघि सामानुपातीकबाट सांसद प्रवेश गरेका पासवान बाम राजनीतिक प्रिष्टभूमिबाट राजनीतिमा आएका हुन्। लहान दलित आन्दोलनबाट चर्चामा आएका उनले पछि आफ्नै नेतृत्वमा पार्टी खोलेका छन्। 

पुरानै अनुहारका उम्मेदवारको बर्चश्व रहेको यस क्षेत्रबाट नेपाली काँग्रेसले चन्द्रकला देवी यादवलाई अगाडी सारेका छन्। उनी पहिलो पटक निर्वाचनमा आएका हुन। 

राष्ट्रिय स्वतन्त्र पार्टी तपेश्वर यादव, आम जनता पार्टीवाट वीरेन्द्र साह, उज्यालो नेपाल पार्टीबाट विनय प्रविनलगायत ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले बताएको छ।

यस क्षेत्रमा ४९ हजार ९६९ महिला र ५६ हजार ७१७ पुरुषसहित कुल एक लाख ६ हजार ६८६ मतदाता रहेका छन्। निर्वाचन कार्याको लागि २२३ मतदानस्थल कामय गरिएको छ भने ५३१ मतदानकेन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।