सिरहा, ६ माघ। निर्वाचन क्षेत्र नम्बर ४ बाट पाँच जना पूर्वमन्त्री मन्त्रिहरु चुनावी मैदानमा उत्रिएका छन्। मिर्चैयास्थित रेडक्रस भवनमा रहेको क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा पाँच जना पूर्वमन्त्रीले मनोनयन दर्ता गराएका हुन्।
पूर्वमन्त्रीहरु जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, नेपाली कम्यूनिष्ट पार्टीका नेता अजयशंकर नायक, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, बहुजनशक्ति पार्टीबाट केन्द्रिय अध्यक्ष विश्वेन्द्र पासवानल र नेकपा एमालेबाट धर्मनाथ साह उम्मेदवारी दिएका छन्।
नेपाली कम्यूनिष्ट पार्टीबाट उम्मेदवारको टिकट नपाए पछि आजै एमाले प्रवेश गरेर पूर्वमन्त्री धर्मनाथ साहले नेकपा एमालेबाट उम्मेदवारी दिएका हुन्।
यसमध्ये राजकिशोर तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका छन्। यस अघि सिरहा २ बाट चुनाव जितेका उनी त्यसअघि सिरहा ४ बाटै निर्वाचित भएका थिए।
जसपावाट जनमत प्रवेश गरेका डाक्टर महतोले उम्मेदवारी मनोनयन गराएका महतो दुई पटक सांसद भएका उनी त्यसअघि जसपा नेपालबाटै समानुपातिक सांसद भएका थिए। तर, जसपा नेपालबाट फुटेर बनेको अशोक राईको पार्टीमा गएर महतो वन मन्त्री भएका थिए। यसपालि भने चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन्।
नेकपाका अजय शंकर भने समानुपातिक सांसद भएर मन्त्री भएका थिए।
एमालेका धर्मनाथ भने प्रत्यक्ष र समानुपातिक गरी दुई पटक सांसद र एक पटक मन्त्री भएका थिए। विश्वेन्द्र भने समानुपातिक सांसद हुँदै मन्त्री बन्न पुगेका थिए। यससँगै यो क्षेत्र जिल्लामा सबैभन्दा धेरै पूर्वमन्त्रीको उम्मेदवारी पर्ने क्षेत्र बनेको छ।
क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट चन्द्रकला देवी यादव, राष्ट्रिय स्वतन्त्र पार्टी तपेश्वर यादव, आम आदमी पार्टीवाट विरेन्द्र साहलगायत ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले बताए।






















