मणिलाल विश्वकर्मा
लहान, ५ माघ। काठमाडौं महानगरपालिका प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त पार्टी प्रवेश गरेका बालेन्द्र शाह (बालेन) सोमबार बिहान सिराहाको लहान आएका छन्।युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, पार्टीका समर्थक शुभचिन्तकहरूको साथमा सोमबार बिहान ८ बजे लहान आइपुगेका उनले लहान १ स्थित सहिद स्मारकमा मधेश विद्रोहका सहिदहरूको सालिकमा माल्यार्पण गरे। शुभचिन्तककाे भिडमा उनले सालिकमा माल्यार्पण गरेपछि केही बोलेनन्, तर भिडले ‘बालेन’ भन्दै नारा लगाएको थियो।
१ माघ ०६३ मा जारी भएको अन्तरिम संविधानमा मधेश र मधेशीको उपेक्षा तथा संघीयता नराखिएको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको आह्वानमा संघीयता, जनसंख्याको आधारमा समानुपातिक सहभागितालगायतको मागसहित लहानबाट आन्दोलन सुरु भएको थियो। लहानमा ५ माघमा विद्यार्थी रमेशकुमार महतो मारिएपछि विद्रोहको रूपमा परिणत भएको थियो। विद्रोहका क्रममा महतोसहित लहान १५ ढोढना मोहनपुरका बेचन यादव, लहान ४ का विजय सहनी, सखुवानन्कारकट्टी गाउँपालिका ३ मिर्जापुरका प्रमोद सदाय र ५ महेशबारीका मोहम्मद अनिश सहिद भएका थिए।






















