मणिलाल विश्वकर्मा

लहान, १ माघ। सिराहाका विभिन्न स्थानीय तहहरूमा थारू समुदायले माघे संक्रान्तिको अवसर पारेर माघी महोत्सव तथा मेला आयोजना गरेका छन्। 
थारू संवत् २६४९ को सन्दर्भ पारेर माघे संक्रान्तिको दिन बिहीबार सिराहाको लहान, धनगढीमाई, नरहा, सखुवानन्कारकट्टीलगायतका स्थानीय तहहरूमा माघेसंक्रान्तिको अवसरमा महोत्सव गरिएको छ।

चुरे क्षेत्रमा पर्ने लहान नगरपालिका- १५, बानोस्थित झौवाई खोल्सी ९, खुट्टीपारी लहानगोठ- २२,  बर्छवा, सखुवानन्कारपट्टी- ३, सरहञ्चिया, धनगढीमाई- ४, सन्तनगर, नरहालगायतका ठाउँहरूमा माघी महोत्सव गरिएको हो। 

झौवाई खोल्सी महोत्सवको क्रममा थारू पहिरन, भेषभूषामा सजिएर लहान बजार आइपुगेका स्थानीयको र्‍यालीलाई स्वागत गर्दै नगर प्रमुख महेशप्रसाद चौधरी र नेपाली कांग्रेसका सिराहा जिल्ला उपसभापति सुनीलकुमार महतोलगायत सहभागी भएका छन्।

महोत्सवमा थारू समुदायका विशेष परिकारहरू बगिया, घुँगी, सिध्रा (माछाको सुकुटी) चिउरा, मुरहीको लड्डुलगायतका खानेकुराको प्रदर्शन गरिन्छ। 

लहान १५ का वडाध्यक्ष तेजनारायण चौधरीका अनुसार हरेक वर्ष १ माघमा माघी महोत्सवको सन्दर्भ पारेर थारू संस्कृति, पहिचान, भेषभूषा, खानेकुराको परिकारको प्रचारप्रसार गर्नुका साथै रमाइलो गरिन्छ।