विराटनगर, ३० पुस। नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाले मुक्तक दिवसको अवसर पारेर २०८२ सालमा प्रदान गरिने विभिन्न पुरस्कार घोषणा गरेका छन्। प्रतिष्ठानका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलले आगामी माघ १७ गते विराटनगरमा आयोजना हुने विशेष समारोहका बीच ती पुरस्कारहरू वितरण गरिने जानकारी दिए।
प्रतिष्ठानले यस वर्ष नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार १५ हजार रुपैयाँद्वारा नेपाली साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रका अत्यन्त प्रभावशाली र बहुआयामिक व्यक्तित्व प्रा.डा. गोविन्दराज भट्टराईलाई सम्मान गरिने जनाएको छ।
नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार १५ हजार रुपैयाँबाट नेपाली कविता, समालोचना, वालसाहित्य र अनुसन्धानको क्षेत्रमा निरन्तर क्रियाशील रहेर नेपाली साहित्यको श्रीवृद्धि र प्रवद्र्धनमा योगदान पुर्याउनु भएकी साहित्यकार डा. कौशिला रिसाललाई सम्मान गर्ने निर्णय भएको आयोजकले जनाएको छ।
त्यसैगरी, साहित्यकार तारानाथ पोखरेलले मातापिताको स्मृतिमा स्थापना गरेको छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार ११ हजार रुपैयाँबाट पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन र कुशल संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत वरिष्ठ साहित्यकार मधु पोखरेललाई र माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार ११ हजार रुपैयाँ नेपाली मुक्तक साहित्यका एक समर्पित र विशिष्ट साधक शिव अधिकारी (इलामे जेठो) लाई प्रदान गरिने भएको छ।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका सचिव मदन भण्डारीका अनुसार उक्त प्रतिष्ठानबाट गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले पुरस्कार समर्पण गरिने व्यक्तिहरूको छनौट गरेको हो।






















