सिरहा, ३० पुस। पत्रकार अर्जन थपलियालाई ज्यानै मार्नेसम्मको धम्कि दिएको घटनाप्रति प्रेस सेन्टर नेपाल सिरहाको गम्भीर ध्यानाकर्षण भएको जनाएको जनाएको छ। सेन्टरका जिल्ला अध्यक्ष रामभरोसी यादवले आज प्रेस विज्ञप्ती जारी गर्दै गोलबजार नगरपालिका ३ जमदहस्थित एक मन्दिर निर्माण उपभोक्ता समितिका सचिव बताउने प्रल्हाद बुढाथोकीले पत्रकार अर्जुन थपलियालाई बिना कारण मानमर्दन हुने गरी तथा ज्यान मार्ने धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।

बुढाथोकीको नाम जोडिएर कुनै समाचारसमेत सम्प्रेषण नभएको अवस्थामा अरुको उस्काहटमा पत्रकार थपलियालाई फोनमार्फत गालीगलौज गर्दै “जे पनि गर्न सक्ने” प्रकारको धम्की दिनु स्वतन्त्र पत्रकारितामाथिको गम्भीर आक्रमण भएको अध्यक्ष रामभरोसी यादवद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

यादबका अनुसार पत्रकारले स्वतन्त्र रूपमा समाचार संकलन, सम्पादन तथा सम्प्रेषण गर्नु उसको कर्तव्य हो। समाचारप्रति असन्तुष्टि भए कानुनी उपचार खोज्न सकिने प्रावधान हुँदाहुँदै पनि पत्रकारलाई ज्यान मार्ने धम्की दिनु कानुनलाई हातमा लिने कार्य हो, जुन पूर्ण रूपमा निन्दनीय छ।

अध्यक्ष यादवले यस घटनामा संलग्न दोषीमाथि प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। यदि दोषीमाथि तत्काल कानुनी कारबाही अघि नबढाइएमा प्रेस सेन्टर नेपाल आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन्।

पत्रकारको सुरक्षा सुनिश्चित गर्नु लोकतन्त्रको आधार भएको उल्लेख गर्दै अध्यक्ष यादवले यस्ता घटनाको पुनरावृत्ति रोक्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।