रामनारायण ठाकुर
मिर्चैया,२९ पुस। दामोदरानन्द ब्रह्मचारी बाबा प्रतिष्ठानद्वारा आयोजित नगरस्तरीय सामुदायिक आधारभुत विद्यालय (कक्षा १–५) बीचको हाजिरीजवाफ प्रतियोगिता–२०८२ मा मोहन माध्यमिक विद्यालय, मिर्चैया प्रथम भएको छ।

दामोदरानन्द ब्रह्मचारी बाबाको १५३औँ जन्मजयन्तीको अवसरमा मोहन मा.वि. मिर्चैयाको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा मिर्चैया नगरक्षेत्रका १७ वटा आधारभुत सामुदायिक विद्यालय (कक्षा १–५)का छात्र–छात्राबीच हाजिरी जवाफ प्रतियोगिता भएको हो।
प्रतियोगिमा मोहन मा.वि. मिर्चैयाले १० अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी, जनचेतना आधारभूत विद्यालय, मल्हनियाँखोरी ६ अङ्कसहित द्वितीय तथा राजेश्वरी आधारभूत विद्यालय, मटलेश्वरले ५ अङ्क प्राप्त गर्दै तृतीय स्थान प्राप्त गर्न सफल भएको प्रतिष्ठानका सचिव रामसागर ठाकुरले जानकारी दिए।
त्यसैगरी, बाजु माध्यमिक विद्यालय, फुलबरीयाँ र देउराली प्राथमिक विद्यालय, घुर्मीले ४–४ अंक प्राप्त गरी सान्त्वना पुरस्कार पाएका छन्।
प्रतिष्ठानले प्रतियोगितामा प्रथम हुने विद्यालयलाई दुई हजार एक सय, द्वितीयलाई एक हजार ५००, तृतीयलाई एक हजार २०० तथा सान्त्वना पुरस्कार ९०० रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने जनाएको छ।
प्रतियोगितामा प्रत्येक विद्यालयबाट ३ जना विद्यार्थी (२ छात्र र १ छात्रा) सहभागी थिए। प्रतियोगिताका लागि कक्षा १ देखि ५ सम्मका विषयवस्तु तथा सामान्य ज्ञान समेटी ६८ वटा प्रश्न समावेश गरिएको थियो। प्रश्नपत्र निर्माण मिर्चैया नगरपालिका शिक्षा शाखाका भगवान बाबु साह र पूर्व स्रोत व्यक्ति महेन्द्र यादवले गरेका थिए।
पुरस्कार वितरण ब्रह्मचारी बाबाको १५३औँ जन्मजयन्तीको दिन माघ १ गते बिहान ८ बजे आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष अशोक कुमार यादवले जानकारी दिए।























