सिरहा, २९ पुस। जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि देखिएको यो भिड कुनै घटना–दुर्घटना वा आन्दोलनको होइन। निर्वाचन प्रहरीको जागिरका लागि आवेदन दिन आएका युवाहरूको भिड हो। केही समयका लागि भए पनि रोजगारी पाउने आशामा युवाहरू आवेदन दिन लाइन लागेर बसेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि सिरहा जिल्लाकालागि नेपाल प्रहरी तर्फ तीन हजार ३७२ र सशस्त्र प्रहरीतर्फ ३८७ गरी जम्मा तीन हजार ७५९ जना निर्वाचन प्रहरीको माँग गरिएको छ। तर चारदिनको अवधिमा चार ३२३ आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
नेपाल प्रहरीतर्फ ३ हजार ८६६ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन्। जसमध्ये पुरुष तीन हजार ११९ जना र ७४७ जना महिलाले आवेदन दिएका छन्।
त्यसैगरी, सशस्त्र प्रहरीतर्फ ४५७ जनाले आवेदन दिएका छन्। जसमध्ये ४४५ पुरुष र १२ जना महिलाको आवदेन परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। प्रहरीले भोलि पुस ३० गते अन्तिम दिनसम्ममा ६ हजारको हाराहारीमा आवेदन पर्न सक्ने अनुमान गरिएको छ। सरकारले देशभर एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माँग गरेको छ।
यहाँ निर्वाचन प्रहरीकालागि आवेदनदिन सिरहासहित धनुषा, सप्तरी र उदयपुरबाट पनि युवा युवतिहरु आएका छन्। आवेदनदिन आउनेहरु प्रायः प्लस टु सकेर स्नातक पढ्दै गरेका युवाहरुको बाहुल्यता रहेको छ। उनीहरु छोटो समयकोलागि रोजागरी पनि पाईने र अनुभव पनि हुने भएकाले भर्ना हुन आएको बताउँछन्।
उनीहरुले यसले आफ्नो सामान्य पकेट खर्चपनि चल्ने र राज्यको सेवागर्ने अवसर र अनुभाव पनि मिल्ने बताउँछन्।






















