रामनारायण ठाकुर
मिर्चैया, २९ पुस। सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ स्थित शुभकार्य कृषि सहकारी संस्था लिमिटेडको ९औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
कार्यक्रममा वक्ताहरूले शुभकार्य कृषि सहकारी संस्थाले छोटो अवधिमै मिर्चैया क्षेत्रमा उदाहरणीय सहकारीको पहिचान बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा तथा कार्यक्रममार्फत सदस्यहरूको हितमा निरन्तर काम गर्नुपर्नेमा जोड दिएका थिए।

संस्थाका सचिव रामरतन यादवका अनुसार सामान्य पुँजीबाट सुरु भएको संस्थाले ९ वर्षको अवधिमा उल्लेखनीय प्रगति गरेको बताए। हालसम्म संस्थाको कुल कारोबार २६ करोड १७ लाख ६३ हजार ५ सय ७३ रुपैयाँ पुगेको भन्दै १६ करोड ७६ लाख ९६ हजार ६ सय ३२ रुपैयाँ ऋण प्रवाह गरिएको बताए।

त्यसैगरी, १७ करोड १८ लाख ५८ हजार ७ सय २२ रुपैयाँ बचत संकलन भएको छ भने १ करोड १७ लाख ७८ हजार ३ सय रुपैयाँ सेयर पुँजी रहेको छ। हाल संस्थामा २ हजार ३ सय ४३ जना सेयर सदस्य सदस्य आबद्ध छन्।
संस्थाका अध्यक्ष भरत यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव, राष्ट्रिय सहकारी बैंक लहान शाखाका प्रमुख राहुल झा, मिर्चैया नगरपालिकाका सहकारी शाखा प्रमुख धनञ्जय महतोलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, मिथिला बचत बहुउद्देश्यीय सहकारीका अध्यक्ष लोकनाथ यादव, ओम बचत तथा ऋण सहकारीका अध्यक्ष राजेन्द्र साह, स्थानीइ बुद्धिजीवी, समाजसेवी तथा पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।
मिर्चैयास्थित होटेल होलिडे पार्टी प्यालेसको सभाहलमा आयोजित उक्त साधारणसभामा संस्थाका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहकारीको आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे विस्तृत समीक्षा गरिएका थिए।
साधारणसभाको उद्घाटन मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादव, शुभकार्य कृषि सहकारी संस्थाका अध्यक्ष भरत यादव तथा सचिव रामरत्न यादवले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरे।






















