मिर्चैया, २८ पुस। सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले गत साउन २३ गते लगाएको मुद्दामा विशेष अदालतले नगर प्रमुख साहलाई भ्रष्टाचारी ठकहर गरेको हो।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले साहलाई दोषी ठहर गर्ने फैसला गरेको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
लामिछानेका अनुसार साहलाई दोषी ठहर गर्दै अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख रुपैयाँ जरिवाना र सोही उपदफाको (ख) बमोजिम ६ महिना कैद सजाय सुनाएको छ।
अख्तियार टोलीले साहलाई गत असार ३२ गते सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको थियो।






















