सिरहा, २८ पुस। सिरहाको गोलबजार नगरपालिका १० का वडा अध्यक्ष आफैले आधाभुत स्वास्थ्य चौकीमा तालाबन्दि गरेका छन्। नियमित रुपमा स्वास्थ्यकर्मी उपस्थित नभएको भन्दै वडाध्यक्ष उपेन्द्र मुखियाले स्वास्थ्य चौकीमा तालाबन्दी गरेका हुन्। 

स्वास्थ्यजस्तो अत्यन्त संवेदनशील सेवामा नियमित जनशक्ति उपस्थित नभएको जानकारी गराउँदासमेत सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै बाध्यभएर मैले तालाबन्दी गर्नुपरेको वडाध्यक्ष मुखियाले बताए।

वडा कार्यालयसँगै रहेको आधारभुत स्वास्थ्य चौकीमा दुइजना स्वास्थयकर्मी छन्, उहाँहरु पनि सेवा दिनुको साटो विभिन्न बहानामा उपस्थित नहुने र सेवाग्राही सेवाबाट बन्चित हुने गरेको बताए। ‘वडा कार्यालय र स्वास्थ्य चौकी सँगै छ। चैकीमा स्वास्थ्यकर्मी नभटीएपछि मलाई नै गुनासो गर्न आउँहुनुहुन्छ। मैले सोधी खोजी गर्दा कहिले फिल्डमा, कहिले काजमा त कहिले विदामा बस्ने जस्ता वाहानाले आजित भएपछि बाध्य भएर ताला नै लाउने पर्यो।’ वडा अध्यक्ष मुखियाले भने। उनले थपे, ‘कामै नहुने भएपछि कार्यालय खुल्ला रहनुको के अर्थ हुन्छ र? बरु बन्दै होस्।’ 

उनले स्वास्थ्यकर्मी व्यवस्थापनका लागि पटक–पटक मेयर श्याम श्रेष्ठ र स्वास्थ्य शाखालाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। नियमित स्वास्थ्य चौकी सञ्चालन नहुँदा स्थानीय सेवाग्राही उपचारबाट वञ्चित हुँदै आएका छन्।  

स्थानीयलेसमेत शीघ्र स्वास्थ्यकर्मीको व्यवस्था गरी स्वास्थ्य चौकी नियमित सञ्चालन गर्न नगरपालिकासँग माँग गरेका छन्।

यता गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णले स्वास्थ्यकर्मी अभावका कारण त्यहाँ प्रयाप्त जनशक्ति पठाउन नसकिएको बताए। उनले त्यहाँ अहिले इन्द्रजित कुमार साह र संगीता ठाकुर कार्यरत रहेपनि इन्द्रजित सुत्केरी स्याहार विदामा रहेको र संगीता तालिममा रहेकाले समस्या भएको बताए। स्वास्थ्य शाखा प्रमुख कर्णले दुई जनामात्र कर्मचारी भएकाले विदा र नियमित खोपजस्ता कार्यक्रममा चौकी प्रभावित हुँदै आएको स्वीकार गरे। उनले भने, ‘दुई जनामात्र स्वास्थ्यकर्मी कार्यरत भएकाले खोप, भैपरी आउने विदामा कार्यालय सहयोगीले चौकी खोलेर बस्ने गरेको छ। हामीसँग पर्याप्त जनशक्ति छैन। तरपनि त्यहाँ थप जनशक्ति पठाउने सल्लाह भएको छ। भोलीबाटै जान्छ।’