सिराहा, २७ पुस। सिराहाको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिराहाबाट खटिएको टोलीले आईतबार अपरान्ह भगवानपुर गाउँपालिका ४, ठाडीबाट चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भगवानपुर गाउँपालिका ३, मरिकटोलका २४ वर्षीय देवनाथ यादवलाई  स्रोत नखुलेको १० लाख तीन हजार ९९० रुपियाँ नगदसहित नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपियाँ, साथमा उनले प्रयोग गरेको मोटरसाइकल र एक थान मोबाइल फोन बरामद गरेको छ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद नगद र सामग्रीहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकम ओसारपसार नियन्त्रणका लागि निगरानी र सुरक्षा जाँचलाई थप कडाइ गरिएको जानकारी दिए। 

भारतीय बजारमा नेपाली ग्राहकले किनमेल गर्दा खर्चियको रकम अबैधरुपमा नेपाल भित्र्याउँदै आएको छ। नेपाली व्यवसायीहरुकै सहयोगमा ती रकम नेपालको बैंकमा जम्मा गर्ने र भारतमा एटीएमबाट झिक्ने गरेको व्यवसायीहरु बताउँछन्।